Logo

कर्मचारीको एकैपटक सरुवा हुँदा गाउँपालिकाको काम प्रभावित



बैतडी, १८ पुस: दोगडाकेदार गाउँपालिकाका १० कर्मचारीको एकैपटक सरुवा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीको काज सरुवाको निर्णय गरेसँगै यहाँका पाँच वडा सचिव, एक इञ्जिनीयर, दुई सव ओभरसियर, एक कम्युटर अपरेटर र एक आन्तरिक लेखा परीक्षकको सरुवा भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र धामीले जानकारी दिए ।

स्थानीय तहमा कार्यरत र अपायक भएका कर्मचारीलाई निवेदनका आधारमा कामकाज गर्नेगरी अर्को स्थानीय तहमा खटाउने निर्णय गरेसँगै स्थानीय तहका कर्मचारीको सरुवा गरिएको हो । स्थानीय तहका कर्मचारीको सरुवासम्बन्धी कानूनी व्यवस्थाको अभावका कारण अहिले अन्तर स्थानीय तह कामकाजमा खटाइएको भनी निर्णय भएको जनाइएको छ ।

कर्मचारीको एकैपटक सरुवा हुँदा काम प्रभावित भएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए । उनले भने, “एकैपटक बढी सङ्ख्यामा कर्मचारीको सरुवा हुँदा सेवा प्रभावमा केही समस्या भएको छ ।” कर्मचारी सरुवा भएसँगै त्यहाँका सात वडा पनि सचिवविहीन भएका छन् । गाउँपालिकामा रहेका आठ वडामध्ये वडा नं १ बाहेक अन्य सबै वडा सचिवविहीन भएका हुन् ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot