पर्वत, १८ पुस: नेकपा (एमाले) को नवौँ जिल्ला अधिवेशनको मिति नजिकिँदै जाँदा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । आगामी नेतृत्वका लागि नेता आन्तरिक तयारीमा जुटिरहेका छन् भने अधिवेशन सफल पार्नका लागि अन्य तयारीसमेत तीव्र पारिएको हो । एमाले जिल्ला कमिटीको १२आँै बैठकले विभिन्न उपसमिति बनाएर चुनावको तयारी थालेको हो ।
यसैबीच शनिबार जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोट गरिएको छ । जिल्लाका ६१ वटै वडाबाट एकैदिन प्रतिनिधि छनोट गर्ने कार्यतालिकाअनुसार शनिबार सातवटै पालिकाका सबै वडामा भेला गरी प्रतिनिधि चयनको प्रक्रिया अघि बढाइएको छ । एमालेका कार्यवाहक अध्यक्ष भक्त कुँवरका अनुसार अधिकांश वडामा सर्वसम्मतरुपमा प्रतिनिधि चयन भइसकेका र केही वडामा सहमतिको प्रयास जारी रहेको छ ।
अधिवेशन नजिकिँदै गएकाले नटुङ्गिएका वडामा पनि आजसम्म सहमतिमै प्रतिनिधि छनोट हुने उहाँको भनाइ छ । एमालेको बैठकले प्रत्येक ५० जना सङ्गठित सदस्य बराबर एक प्रतिनिधि र दलित तथा महिलाका हकमा ४० जना बराबर एक÷एक प्रतिनिधि छनोट हुने व्यवस्था गरेको थियो । यसबाहेक पालिका कमिटीबाट दुई÷दुई र जनसङ्गठनबाट एक÷एक प्रतिनिधि छनोट गर्ने व्यवस्था मिलाइएको थियो । अधिवेशनमा ४०० भन्दाबढी प्रतिनिधि सहभागी हुने भएका छन् ।-रासस/File Photo