Logo

क्यान–खेलाडी विवादः १३ खेलाडी बन्द प्रशिक्षणमा आएनन्



काठमाडौं, १८ पुस । नेपाल क्रिकेट संघ (क्यान)ले बोलाएको बन्द प्रशिक्षणमा १३ जना खेलाडी सम्पर्कमा नआएको क्यानले जनाएको छ ।

राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणको लागि क्यानले खेलाडीहरुलाई शनिबार साँझसम्म होटलमा रिपोर्टिङका लागि निर्देशन दिएको थियो । तर, १७ जना खेलाडीमात्र सम्पर्कमा आएको क्यानले जनाएको हो ।

क्यानले बोलाइएका ३० खेलाडीमध्य १३ जना खेलाडी क्यानको सम्पर्कमा नआएपछि उनीहरुले क्यानको पछिल्लो कदम प्रति मौन असहमति पोखेको बुझीएको छ ।

आगामी फेब्रुअरीमा हुने आइसिसी टि–२० विश्वकप छनोटका लागि आजदेखि बोलाएको बन्द प्रशिक्षणमा केहि खेलाडी नआएपछि आजबाट सुरु हुन सकेन् ।

यद्यपी खेलाडी नआएपनि क्यानले सोमबारबाट बन्द प्रशिक्षण सुरुगर्ने बताएको छ ।

सहभागी नहुनेमा ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, विनोद भण्डारी, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा, अभिनाश बोहरा, सुशन भारी, विक्रम सोब, रोहितकुमार पोडेल र नन्दान यादव रहेका छन् ।

खेलाडी वर्गीकरणको विषयमा सञ्चारमाध्यममा असन्तुष्टि जनाएको भन्दै क्यानले कप्तान ज्ञानेन्द्र मल्ल सहित ४ खेलाडीलाई कारबाही गरेको थियो ।

साथै, क्यानले कप्तानबाट ज्ञानेन्द्र र उपकप्तानबाट दीपेन्द्रलाई पदबाट हटाउनुका साथै चारै जना खेलाडीलाइृ ६ महिनाका लागि निलम्बन गरेको थियो ।

कारबाहीमा परेका चार खेलाडीले शनिबार क्यानलाई पत्र लेख्दै आफूहरुमाथिको कारबाही फिर्ता गर्न अनुरोध गरेका थिए ।

तर, क्यान अन्य कुरामा सकारात्मक भएपनि कप्तान भने परिवर्तनको बिषयमा भने अडिक रहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot