Logo

ओमिक्रोन भित्रिन नदिन सीमा नाकामा परीक्षण तीव्र बनाउन स्वास्थ्य मन्त्रालयको आग्रह



काठमाडौँ, १८ पुस। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिन नदिन सीमा नाकामा परीक्षणलाई तीव्र बनाउन आग्रह गरेको छ । छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट तीव्ररुपमा फैलिएपछि स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयले मुलुकभरका सबै स्थानीय तह, स्वास्थ्य कार्यालयहरु र स्वास्थ्य निर्देशनालयहरुलाई आग्रह गरेको हो। स्वास्थ्य सेवा विभाग इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सीमा नाकामा रहेका प्रवेश बिन्दुहरुबाट प्रवेश गर्ने यात्रुहरुको परीक्षण तथा व्यवस्थापन गर्न मातहातलाई पत्राचार गरेको हो ।

पुस १७ मा पठाइएको पत्रमा समुदायमा जोखिम क्षेत्रहरु (हटस्पट ) पत्ता लगाइ एन्टिजेन किटद्वारा परीक्षण गर्ने र परीक्षणको दायरा बढाउनुपर्ने उल्लेख छ । पहिचान भएका कोभिड–१९ का केसहरुको उचित व्यवस्थापन (आइसोलेसन ,उपचार ) मा समन्वय र सहयोग गर्नुहुन पत्रमा भनिएको छ ।

पत्रमा भनिएको छ, ‘खोप लगाउन छुटेका लक्षित वर्गहरुको पहिचान तथा कोभिड–१९ विरुद्धको खोपको प्रयोगमा वृद्धि गर्नुहुन, घरमै आइसोलेसनमा रहेका क्वारेन्टिनमा रहेका व्यक्तिहरुको समुचित फलोअप एवं मापदण्ड पालनाको निगरानी गर्नुहुन भाइरसले नयाँ नयाँ उत्परिवर्तन गरि नयाँ भेरियन्टहरु आउने हुँदा समय समयमा आउने थप निर्देशिका तथा जानकारीहरुको पूर्ण पालना गर्न गराउनुहुन समेत पुनः अनुरोध छ।’ नेपालमा हालसम्म तीनजनामा कोरोनको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भइसकेको छ।



प्रतिक्रिया दिनुहोस्