Logo

धान उत्पादन विगत ५ वर्षयताकै कम



काठमाडौं, पुस १९ । नेपालमा उत्पादन हुने प्रमुखबाली धानको उत्पादन यसवर्ष ८ दशमलव ७४ प्रतिशतले घटेको छ । गत असोज ३१ देखि कार्तिक ३ गतेसम्म देशभर परेको हावाहुरीसहितको अप्रत्याशित वर्षातले पुर्‍याएको क्षतिका कारण धान उत्पादनमा कमी आएको बताइएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतवार मन्त्रालयमा पत्रकार सम्मलेन गर्दै धानको उत्पादनमा कमी आएको जानकारी दिएको हो । मन्त्रालयले देशभरबाट संकलन गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा धानको उत्पादन विगत ५ वर्षयताकै कम भएको पाइएको छ ।

मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा १४ लाख ७३ हजार ४ सय ७४ हेक्टर जमीनमा ५६ लाख २१ हजार ७ सय १० मेट्रिकटन धान उत्पादन भएकोमा चालू आर्थिक वर्षमा १४ लाख ७७ हजार ३ सय ७८ हेक्टर जमीनमा ५१ लाख ३० हजार ६ सय २५ मेट्रिकटन मात्र धान उत्पादन भएको छ । यो उत्पादन अघिल्लो आबको तुुलनामा ८ दशमलव ७४ प्रतिशतले कम हो ।

यसअघि आव २०७४/७५ मा ५१ लाख ५१ हजार ९ सय २५, आव २०७५/७६ मा ५६ लाख १० हजार ११, आव २०७६÷७७ मा ५५ लाख ५० हजार ८ सय ७८ मेट्रिकटन धान उत्पादन भएको सरकारी तथ्यांक छ ।

गत आर्थिक वर्षको तुलनामा धानबाली लगाइएको क्षेत्रफल करीब ४ हजार हेक्टरले वृद्धि भएको भए तापनि बेमौसमी वर्षात्का कारण उत्पादकत्वमा समेत ९ दशमलव शून्य ९ प्रतिशतले गिरावट आई प्रतिहेक्टर ३ दशमलव ४७ मेट्रिकटन कायम भएको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्