Logo

नोबेलमा १० लाख अतिरिक्त शुल्क माग



काठमाडौं, पुस १९ । चिकित्सा शिक्षा आयोगले तोकेभन्दा लाखौं बढी शुल्क विद्यार्थीबाट असुल्ने प्रयासमा रहेको नोबेल मेडिकल कलेजको कदमको विपक्षमा उभिने विद्यार्थी पढाइबाटै वञ्चित भएका छन् ।

चिकित्सा शिक्षा आयोगको शुल्क सीमा पालना गर्ने र विद्यार्थीहरूबाट कुनै पनि अतिरिक्त शुल्क नलिने वचन स्थानीय प्रशासनलाई दिएर विद्यार्थी आन्दोलन मत्थर पारेको विराटनगरको नोबेल कलेजले फेरि उनीहरूलाई सताउन थालेको छ ।

अतिरिक्त शुल्क नबुझाएपछि अध्ययनबाटै वञ्चित भएका विद्यार्थीहरू आन्दोलित बनेका छन् । उनीहरूले आइतबार नोबेलमा धर्ना दिँदै नोबेल प्रशासनविरुद्ध नाराबाजी गरेका छन् । अतिरिक्त शुल्क लिनु कानुनी रूपमा दण्डनीय भए पनि सञ्चालक सुनिल शर्माले राज्य शक्तिको आडमा विद्यार्थीमाथि अतिरिक्त शुल्कको भार थोपर्दै आएको विद्यार्थी तथा अभिभावहरूको भनाइ छ । ऐन, नियमविपरीत आफूहरूबाट कलेजले पैसा असुल्न खोजेको तर कलेजविरूद्ध राज्यले कुनै ’एक्सन’ नलिएको भन्दै अभिभावक र विद्यार्थीहरू आन्दोलित बनेका छन् ।

उनीहरूले आयोगको निर्देशन विपरित होस्टेल बस्न नचाहने विराटनगरै घर भएका विद्यार्थीहरूलाई समेत होस्टेल अनिवार्य गरिएको तथा खाना र खाजा बिनाको बस्नका लागि मात्रै दिने गरिएको कोठावापत २४ हजार रुपियाँ लिने गरिएको बताएका छन् ।

स्नातक तह (एमबीबीएस) पहिलो वर्षमा भर्ना हुन आएका विद्यार्थीहरूबाट कानुनविपरीत अतिरिक्त शुल्क असुल्न खोजिरहेको नोबेलले शुल्क नबुझाउने विद्यार्थीलाई कक्षा प्रवेशमै रोक लगाएको छ । तीन दिन यता उनीहरूले कक्षामा प्रवेश भएर पढ्न समेत पाएका छैनन् । जिल्ला प्रशासन कार्यालय मोरङमा साताअघि भएको छलफलमा नोबेलले कुनै पनि अतिरिक्त शुल्क नदिने प्रतिबद्धता जनाएको थियो ।

प्रशासनकै रोहबरमा भएको छलफलमा कलेज व्यवस्थापनले शुल्क नलिने भनेपछि विद्यार्थी र अभिभावक ढुक्क बनेका थिए । तर, बुधबारदेखि शुरू भएको कक्षा प्रवेश गर्नुअघि शुल्क अनिवार्य बुझाउन कलेजले विद्यार्थीलाई ताकेता गरिरहेको छ ।

अतिरिक्त शुल्क नबुझाएकै कारण बुधबार र बिहीबारको कक्षामा अधिकांश विद्यार्थीले प्रवेश रोकिएको छ । यो प्रक्रिया आइतबार पनि कायमै नै रह्यो । विद्यार्थीका अनुसार यसपटक नोबेलमा एमबीबीएस पहिलो वर्षमा १०० विद्यार्थी भर्ना भएका छन् । तीमध्ये १० जना छात्रवृत्तिअन्तर्गतका, नौ जना भारतीय र अतिरिक्त शुल्क बुझाएका पाँचदेखि सात जनालाई मात्रै अहिले कक्षामा प्रवेश दिइएको छ। नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot