Logo

तयारी नपुगेको भन्दै एमाले महोत्तरीले सार्‍याे जिल्ला अधिवेशन, ६ पालिकामा अझै भएन अधिवेशन



विशाल बस्नेत/न्युज कारखाना : महोत्तरी, १९ पुस । नेकपा (एमाले) महोत्तरीकाे जिल्ला अधिवेशन सरेकाे छ । २३ पुसमा एकैपटक जिल्ला अधिवेशन तय भए पनि महाेत्तरीमा भने तयारी नपुग्ने भन्दै ५-६ माघका लागि सारिएकाे हाे ।

६ पालिकामा अझै अधिवेशन हुन नसकेकाले जिल्ला अधिवेशन सारिएकाे केन्द्रीय सदस्य टेकबहादुर बलाम्पाकी मगरले जानकारी दिए । क्षेत्र नम्बर १ र ३ मा सम्पन्न भए पनि २ र ४ मा विवाद कायमै रहेकाे एमाले महोत्तरीका सचिव सीताराम झाले जानकारी दिए ।

नेतृत्वका लागि आकांक्षी धेरै भएकाले सहमतिकाे प्रयास गरिएकाे छ ।

प्रतिनिधि चयनमा पनि आफूखुसी निर्णय लिएको भन्दै अहिले पनि एमालेभित्र ठूलो विवाद छ । एकता प्रक्रियाबाट आएका पूर्व माओवादीले आफूखुसी निर्णय लिएको संस्थापन पक्षले आरोप लगाउँदै आएकाे छ ।

एमालेको १०औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित टेकबहादुर बलाम्पाकी, जनप्रतिनिधि तथा वडाध्यक्ष फाल्गुन सुस्लिङ्ग मगर पूर्वमाओवादी हुन् ।

जिल्ला अधिवेशनमा पनि रस्साकस्सी हुने देखिएको छ । महाअधिवेशन प्रतिनिधिमा असन्तुष्ट पक्षले जिल्ला अधिवेशनमा पनि आफूखुसी गरे एमाले महोत्तरीमा थप विवाद बढनसक्ने र अर्को पक्षले फाइदा लिने जिल्लाका कतिपय नेताको आँकलन छ ।

जिल्ला पाटीभित्रकाे विवाद समाधानका लागि जिल्लास्थित नेताहरुले केन्द्रीय सदस्य तथा पोलुटब्युरो सदस्य रामदयाल मण्डललाई अगाडि सारेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्