Logo

महोत्तरीका झा दम्पत्ति हत्याका अभियुक्त धरौटीमा रिहा भएपछि…



काठमाडौं, १९ पौष । महोत्तरीमा गत वर्ष भएको झा दम्पत्ति हत्याका अभियुक्त छुटेको भन्दै तत्काल जेल हाल्न माग गरिएको छ । झा दम्पत्ति हत्याका अभियुक्त ४ जनालाई धरौटीमा छाडिएको भन्दै छोरा मनिष झाले आफू र परिवारसमेत असुरक्षित भएको भन्दै तत्काल जेल हाल्न माग गरेका हुन् ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मनिष झाले जेल हाल्नुपर्नेलाई रिहा गरेर असुरक्षित बनाएको बताए । उनले आफूहरुमाथि अन्याय भएको बताए । २०७७ साल फागुन १० गते राति मुसाफिर झा र गीतादेवी झा दम्पत्तिको हत्या भएको थियो । प्रहरीले लामो अनुसन्धानपछि अभियुक्तहरुलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो ।

मृतक झा दम्पत्तिका छोरा मनिषले १ जना अभियुक्तलाई जिल्ला अदालतले र ३ जनालाई पुनरावेदन अदालतले धरौटीमा छाडिदिएको बताए । उनले आफ्नो आमा बुवाको हत्यामा संम्लग्न अभियुक्तहरुलाई जेलमा राखेर कारबाही गर्न माग गरेका छन् ।

मनिष झाले हत्यारा तोकेकाहरु ७ जना मध्ये जिल्ला अदालतले तारादेवी यादवलाई कोभिडको कारण र ६५ वर्ष पुगेको भन्दै धरौटीमा छाडेको सुनाए । बाँकी रहेका ६ जना अभियुक्त मध्येपनि ३ जनालाई पुनरावेदन अदालतले धरौटीमा रिहा गरेकोमा असन्तुष्टि पोखे । उनले भने ‘अभियुक्तहरु सुरेन्द्र यादवलाई ५ लाख, बब्लु झालाई २ लाख र रजिन्द्र झासँग ५ लाख लिएर पुनरावेदन अदालतले छाडिदिएर हामीलाई निकै अन्याय गर्यो ।’ उनले पुनरावेदन अदालतले अन्यायमा परेको भन्दै अब आफूहरु सर्वोच्च अदालत जाने बताए । उनले रुदै भने, ‘म निकै दुखी छु, मेरो आफ्नो भन्ने आमा बालाई नै पापीहरुले मारिदिए । मलाई न्याय मिलाइदिनुहोस् ।’

‘कैलाश झाले आफ्नै घरमा एक महिना राखेको, विकास झाले थाहा नपाउने हुन्छ ? ४ वटा कोठा, ४ जना मात्र भएको घरमा एक महिना शव राख्दा कसरी थाहा पाएनन् ? कुन तथ्यमा अभियुक्तहरुलाई छाडियो ? सुरेन्द्र यादवको कपडामा रगत लागेपनि मानिसको रगत नभई घरमा कलर लगाएको भनेर पुनरावेदन अदालतले छुटायो । तर जिल्ला अदालतले मानिसको रगत लागेको भनी दोषी ठहर गरेको थियो,’ मनिषले भने ।

उनले न्यायका लागि साथ दिन आग्रह गरे । उनले भने, ‘मलाई न्याय दिन्ुस, उनीहरु जेलबाट छुटिसकेका छन् मलाई पनि डर लागिरहेको छ । असुरक्षीत महसुस गरिरहेको छु । म अपांग भएकोले अपराधीहरुले घटना घटाएका हुन् ।’ मनिषले जतिजना दोषी ठहर गरिएको छ तीनीहरु सबैलाई कारबाही भएर सधै जेल राख्न उनले माग गरे ।

 



प्रतिक्रिया दिनुहोस्