काठमाडौं, २० पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्र झन् प्रभावशाली बनेका छन् । काँग्रेस केन्द्रीय कमिटीमा दुई तिहाई शक्तिका साथ उनी प्रभावशाली बनेका हुन् । देउवाले सभापति निर्वाचित भएलगत्तै पार्टीभित्र इतर समूहको गुट भत्काउन थालेर झन् शक्तिशाली बन्ने महत्वाकांक्षा देखाएका छन् ।
सभापतिमा देउवासँग पराजित डा. शेखर कोइरालालाई २०औं वरियतामा राखेका छन् । कोइराला समूहबाट पदाधिकारीमा पराजित वा अन्य कसैलाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेका छैनन् ।
दुईपटक गरी १३ जना केन्द्रीय सदस्य मनोनित गर्दा शेखर समूहका कोही पनि परेनन् । यतिसम्मकी पदाधिकारीमा पराजित चन्द्र भण्डारी र डा. मीनेन्द्र रिजाल पनि समेटिएनन् ।
राष्ट्रियसभाको उम्मेदवार चयन गर्दा देउवाले रामचन्द्र पौडेललाई सुने । उनले शेखरलाई पूरै बेवास्ता गरे । पौडेलसँग सल्लाह गरेर कमला पन्त र नारायण मिश्रलाई उम्मेदवारमा समेटे । बागमती प्रदेशमा मन्त्री बनाउँदा पनि देउवाले पौडेलसँगै सल्लाह गरे ।
काँग्रेसभित्र नयाँ शक्तिका रुपमा उदाएका शेखर कोइरालालाई देउवाले मान्यता नदिएको संकेतका रुपमा पछिल्लो घटनालाई लिइएको छ । उनले पौडेल समूहलाई नै इतर समूह मानेर व्यवहार गर्न थालेका छन् । शेखर कोइराला समूहलाई तितर वितर पार्न पनि देउवाले यस्तो कदम चालेको बुझिएको छ ।
देउवाको पछिल्लो कदमप्रति शेखर समूहबाट जितेका उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाले पनि कुरा उठाएका छैनन् । गगन थापाले देउवा सबैको सभापति भएको भन्दै निकटता बढाइसकेका छन् । सहमहामन्त्रीमा शेखर समूहबाट जितेका बद्री पाण्डे र जीवन परियारले पनि आवाज उठाइरहेका छैनन् ।
काँग्रेसभित्रको अर्को समूह प्रकाशमान सिंह विस्तारै देउवासँग नजिकिदै गएका छन् । देउवा समूहका हस्ती नेताहरुले पनि सिंहलाई आफ्नो समूहको भावी नेताका रुपमा तयार रहन आग्रह गर्न थालेका छन् । सिंहको आफ्नै समूह रहेपनि उनी देउवासँग नजिकिनुलाई अर्थपूर्ण मानिएको छ ।
विमलेन्द्र निधि शेखर कोइरालासँग नजिकिएका छन् । सशांक कोइराला भने तटस्थ भूमिकामै छन् । इतर समूह तितरवितर हुँदा देउवा शक्तिशाली बनेका छन् । उनले सुरुमा शेखर कोइरालालाई कमजोर बनाएर रामचन्द्र पौडेललाई इतर समूहको मान्यता दिएर राजनीतिक लाभ लिन खोजेको देखिदैछ ।