Logo

परीक्षामा २० अङ्क सित्तैमा!



काठमाडौं, पुस २१। टेलिस्कोप बिग्रिएपछि वाल्मीकि विद्यापीठ (वाल्मीकि क्याम्पस)का विद्यार्थीलाई प्रयोगात्मक परीक्षा नलिइकनै अङ्क प्रदान गर्ने गरिएको छ । स्नातक र स्नातकोत्तर तहमा खगोल ज्योतिष विषयका विद्यार्थीले वेधशालामा रहेको टेलिस्कोप प्रयोग गर्न पाउँदैनन् तर वार्षिक परीक्षामा २० अङ्क सित्तैमा पाउने गरेका छन् ।

विद्यापीठका खगोल ज्योतिष विषयका डा सहप्राध्यापक जयन्त आचार्यले विद्यार्थीलाई टेलिस्कोपको प्रयोग गर्न लगाई प्रयोगात्मक परीक्षा लिनुपर्नेमा कहिल्यै पनि त्यस्तो अवसर प्राप्त हुन नसकेको गुनासो गर्दै भन्नुभयो, “टेलिस्कोपबाट ग्रहको अध्ययन हेर्नुपर्ने हुन्छ तर विद्यार्थीले थन्क्याइएको टेलिस्कोप टाढाबाटै हेरे पुग्छ, परीक्षामा अङ्क पाउँछन् ।

यो हाम्रै कमजोरी हो ।” नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको वाल्मीकि विद्यापीठको माथिल्लो तलामा २०४३ सालमा वेधशाला निर्माण गरिएको थियो । करिब एक सय केजीको टेलिस्कोप जापानबाट झिकाइएको थियो । विद्यापीठको एउटा कोठामा थन्क्याइएको सो टेलिस्कोप नेपालमा हालसम्म भित्रिएकामध्ये सबैभन्दा ठूलो दाबी गरिँदै आएको छ ।

उनका अनुसार टेलिस्कोप राखिएको स्थान जीर्ण हुँदै गएपछि दुर्घटना सिर्जना हुन सक्ने भन्दै टेलिस्कोपलाई तलको कोठामा सारिएको छ । त्यसमा धुलो पर्ने भएकाले कपडाले छोपेर राख्ने गरिएको छ । कपडाको खोल आफूले नै बनाउन लगाएको बताउँदै उनले भने, “विद्यार्थीलाई टाढैबाट यसले यस्तो काम गर्छ भनेर मात्र सिकाउँछौँ ।”

खगोल ज्योतिष विषयमा ग्रहको अध्ययन गरी हिसाब सिकाउन टेलिस्कोपको प्रयोग अनिवार्य पर्छ । विगतमा सो टेलिस्कोप राख्ने गरिएको वेधशालामा फलामको डोम रहेको छ । नजिकैको घिर्नीले सो डोमलाई खोलेपछि आकाश देखा पर्छ । लामो समयदेखि डोम नखोलिएकाले ‘जाम’ भइसकेको छ । “अब डोम पनि बन्द हुँदैन ।

पानी परेका बेला वेधशाला जलमग्न हुन्छ । त्यहाँको पानी तल कोठासम्म आइपुग्छ,” विद्यापीठका सहप्राध्यापक डा आचार्यले भने । उनले दुई दशकभन्दा बढी समयदेखि टेलिस्कोप थन्किएको बताउँदै बजेटका लागि माग गर्दा कसैले पनि वास्ता नगरेको गुनासो गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्