काठमाडौं, २१ पौष । नेपाली काँग्रेसको शेखर कोइराला समूहले पार्टी महाधिवेशनको समिक्षा गर्न थालेको छ । हिजो कोइरालाले आफूनिकट केही नेताहरुलाई डाकेर महाधिवेशनको समिक्षा गरे ।
बैठकमा शेखर समूहले महाधिवेशनमा तटस्थ रहेका रामचन्द्र पौडेलको भूमिकाबारे समेत छलफल गरेको थियो । पौडेलले तटस्थ बसेर देउवालाई सघाएवापत् राजनीतिक फाइदा लिन थालेको भन्दै समिक्षामा नेताहरुले कुरा उठाएका थिए ।
बागमती प्रदेशको मन्त्री बनाउँदा र राष्ट्रियसभामा उम्मेदवार बनाउँदा पनि पौडेलसँग देउवाले छलफल गरी निर्णय लिएका थिए । तर, शेखर कोइराला समूहलाई बेवास्ता गरे ।
यसैगरी, शेखर कोइराला समूहले प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. सशांक कोइराला र सुजाता कोइरालाको भूमिकाबारे पनि छलफल गरेको बुझिएको छ । सिंह, निधि र सुजाताले खुलेरै देउवालाई दोस्रो चरणको चुनावमा साथ दिएका थिए । सशांक भने तटस्थ नै रहेका थिए । उनले पनि देउवालाई भित्र भित्र साथ दिएकोबारे छलफलमा कुरा उठेको बुझिएको छ । हिजोको छलफलमा शेखर कोइराला, धनराज गुरुङ्ग, गगन थापा, अर्जुननरसिंह केसी, बलबहादुर केसी सहभागी थिए । आज थप नेताहरुलाई बोलाएको बुझिएको छ ।
यसैगरी, शेखर कोइरालाले आज आफूनिकट पदाधिकारी र केन्द्रीय सदस्यलाई छलफलमा डाकेका छन् । उनले पार्टीभित्र आफ्नो गुटलाई बलियो रुपमा प्रस्तुत गर्न बैठक डाकेको बुझिएको छ ।