Logo

भारतबाट मल ल्याउने सम्झौता हुँदै



काठमाडौं, पुस २१। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जीटुजी (सरकार–सरकार्र) मार्फत भारतबाट रासायनिक मल खरिद गर्ने भएको छ । मल खरिदका लागि दुई देशबीच हुने सम्झौताको मस्यौदा तयार भइसकेको छ । भारतले पनि आफ्नोतर्फबाट सम्झौताको मस्यौदा नेपाल पठाइसकेको छ । सो मस्यौदाबारे मन्त्रिपरिषद्ले निर्णय गरेपछि दुई पक्ष सम्झौतापत्रमा हस्ताक्षर हुने कृषिमन्त्री महिन्द्रराय यादवका निजी सचिवालयले जनाएको छ ।

पाँच वर्षका लागि सम्झौता हुन लागेको हो । सम्झौता भएपछि सुरुको वर्षमा एक लाख ५० हजार मेट्रिक टन मल खरिद गर्ने, त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतले वृद्धि गर्दै जाने सहमति हुन लागेको बताइएको छ । गत भदौमा कृषि मन्त्रालयका तत्कालीन सचिव डा कृष्णप्रसाद अचार्यको नेतृत्वमा एक टोलीले भारतमा गएर जीटुजीमार्फत मल खरिद गर्ने सहमति गरेको थियो ।

कृषि मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत चीन, बङ्गलादेश, ओमन, मोराकोसँग पनि जीटुजीमार्फत मल खरिद गर्ने प्रक्रियाका लागि पत्र पठाई सकेको छ । तर, त्यसको जवाफ आइनसकेको मन्त्रालय स्रोतले जनाएको छ । नेपालमा यतिखेर मल अभाव देखिएको छ । सरकारसँग हाल १२ हजार २०० मेट्रिक टन मल मात्र मौज्दात छन् । अन्तर्राष्ट्रिय रूपमा मलमा भएको मूल्यवृद्धिका कारण नेपालमा त्यसको असर देखिएको छ । मल अभाव कम गर्न मन्त्रालयले जीटुजीमा विशेष जोड दिएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्