Logo

सार्कको विकल्पमा बिमिस्टेक सक्रिय होला?



काठमाडौं, पुस २२ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमिस्टेक)का महासचिव तेन्जिङ लेकफेल तीनदेखि नेपाल भ्रमणमा छन् ।

उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलगायत उच्चपदस्थ व्यक्तिहरूसँग भेटवार्ता गरे । उनले परराष्ट्रमन्त्री नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुषाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटेर बिमिस्टेकलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरे । सदस्य राष्ट्रहरूबीच क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने विषयमा उनको भ्रमण केन्द्रित देखिन्छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) प्रायः निष्क्रिय भएको समयमा बिमिस्टेक सक्रिय हुनुपर्ने विश्लेषणसमेत भइरहेको छ । भारतले पाकिस्तानबिनाको क्षेत्रीय संगठन बिमिस्टेकलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । सन् २०१४ मा नेपालमा १८औं सार्क शिखर सम्मेलन भएपछि सार्क सम्मेलन हुन सकेको छैन ।

पाकिस्तानले नवौं शिखर सम्मेलन गर्नुपर्ने थियो । तर, सो शिखर सम्मेलन भारत र पाकिस्तानको द्वन्द्वका कारण तत्काल हुने सम्भावना पनि छैन । ३७ वर्षको इतिहास बोकेको सार्कको औचित्य अन्योल बन्दै गएकाले क्षेत्रीय संगठनको आवश्यकता बिमिस्टेकबाट पूरा गर्न नेपालले पनि सक्रियता देखाउनुपर्ने महसुस गरेरै बिमिस्टेकलाई रचनात्मक रूपमा योगदान गर्ने प्रतिबद्धता जनाएको हो ।

सार्क ८ डिसेम्बर १९८५ मा स्थापना भएको हो । सात राष्ट्र रहेकोमा अफगानिस्तान पछि थपियो । सन् २०१४ मा नेपालमा शिखर सम्मेलन भएपछि कोभिड–१९ को महामारीको समयमा नेपालको अध्यक्षतामा सार्कस्तरीय केही मन्त्रीस्तरीय बैठक भर्चुअल रूपमा भने बसेको थियो ।

नेपालले १९औं सार्क शिखर सम्मेलनका लागि मध्यस्थकर्ताका रूपमा विभिन्न प्रयास गरेर पनि सफलता प्राप्त हुन सकेन । त्यसैले विश्वकै उच्च जनघनत्व भएको क्षेत्रमध्ये रहेको दक्षिण एसियाका लागि क्षेत्रीय साझेदारीका रूपमा बिमिस्टेकलाई नै भए पनि अगाडि बढाउन नेपालले पनि पहल गर्नुपर्ने विज्ञहरूको राय छ ।

जलवायु परितर्वन, बहुराष्ट्रिय अपराध, प्राकृतिक प्रकोपलगायतका समस्यासँग एक्लै लड्न नसकिने भएकाले क्षेत्रीय संगठनको आवश्यकता महसुस गरिएको भए पनि दक्षिण एसियाली क्षेत्रमा ती प्रभावकारी हुन नसकेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot