चितवन, २२ पुस: चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा हिउँदे आगन्तुक जलपक्षी गणना भइरहेको छ । बुधबारबाट सुरु भएको गणना शुक्रबार सम्पन्न हुने छ । नेपालमा हरेक वर्ष जनवरी १ बाट १६ तारिखसम्म जलपक्षी गणना गर्ने गरिन्छ । नेपालका १५ ठाउँका ६० वटा सिमसार खण्डमा जलपक्षी गणना गरिन्छ ।
जनवरी १ बाटै कोसी नदी, घोडाघोडी ताल र शुक्लाफाँटाका तालतलैयामा गणना थालिएको थियो । अन्य क्षेत्र समयानुकूल मिलाएर गणना गरिएको हो । नेपाल पक्षीविद् सङ्घको बागमती प्रदेश संयोजक वासु विडारीका अनुसार आज बीस हजारी ताल र आसपासका क्षेत्रमा गणना भइरहेको छ ।
बाटुली, कुमाल, टिकौली, सत्रहजारी ताल र नहर क्षेत्रमा आज १९ जना विज्ञले गणना गरिरहेको उनले जानकारी दिए । गणकहरुले बुधबार लोथरखोलाबाट कसराघाटसम्मका विभिन्न क्षेत्र, निकुञ्जभित्रका लामिताल, तमोर ताल, पटना ताल, भण्डाराको मत्स्यपालन, बुढी राप्तीको चित्रसारी पुलबाट राप्ती दोभानसम्म गणना गरेका थिए ।
वर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष रमेश चौधरीका अनुसार शुक्रबार छुटपुटका ठाउँमा र पश्चिम चितवनमा गणना गरिँदै छ । राप्ती नदीको घठगाईबाट गोलाघाटसम्म, नारायणीको पूर्वी भङगला, नारायणीकै गाँजापुरबाट गोलाघाटसम्म र दिव्यनगरका घोल एवं फाँटमा चरा गणना गरिने छ ।
वर्ड एजुकेशन सोसाइटी, नेपाल पक्षीविद् सङ्घ, हिमालयन नेचर, राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वनको सहकार्यमा गणना भइरहेको छ । पहिलो दिन ४२ जना गणकले गणना गरेका थिए ।
चौधरीले बाइनाकुलार क्यामेरा, जिपिएस, साउण्ड रेकडरलगायतको प्रयोग गरी चराको गणना गरिएको बताए । गत वर्ष चितवनमा ५५ प्रजातिका नौ हजार ५६५ चरा भेटिएको उनले जानकारी दिए । नेपालमा सन् १९८७ बाट चरा गणना थालिएको हो ।
नेपालमा जलपक्षी ठूलो सङ्ख्यामा चीनबाट आउने गर्दछन् । मङ्गोलिया, रुसको दक्षिणी भाग, साइबेरीया, मध्य एशियालगायतका ठाउँबाट धेरै चरा आउँछन् भने पूर्वी युरोपबाट निकै कम चरा आउने उनले जानकारी दिए ।
नेपालमा मात्रै नभएर एशिया क्षेत्रमा नै यही समयमा चरा गणना गरिन्छ । यस गणनामा फोटोग्राफरको पनि सहभागिता हुने गर्दछ । चराको रङ, शरीरको बनोट, आवाज हेरेर र सुनेर गणना गर्ने गरिन्छ ।-रासस/File Photo