Logo

यस्तो रहेछ एमालेलाई एक्लाएर चुनावमा सून्यमा झार्ने ‘गठबन्धनको सूत्र’



काठमाडौं, २२ पौष । नेकपा हुँदा सर्वशक्तिमान जस्तै रहेका केपी शर्मा ओली नेकपा एमाले हुँदा पनि प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नै छन् । तर, नेकपा फुटेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनः ब्युँतियो । त्यसपछि एमाले पनि फुटेर नेकपा एकीकृत समाजवादी पार्टी बन्यो । एमाले नफुट्दा सम्म पनि ओलीको शक्ति कम भएपनि यो हदमा कमजोर भएका थिएनन् । अहिले भने संसदमा पहिलो ठूलो दल भएपनि ओली निरिह सावित हुँदै गएका छन् ।

राष्ट्रियभाको १९ रिक्त हुन लागेको सिटको चुनावमा ओली नेतृत्वको एमालेले नराम्रो झड्का खाने अवस्था बनेको छ । चुनावमा ओलीको दल एमाले एकातर्फ छ भने नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा एकातर्फ छन् । यसकारण एमालेले चुनावी धक्का खाने देखिएको छ ।

एमाले नफुट्दै भएको विवादले उसले राष्ट्रियसभाको उपनिर्वाचनमा धक्का खाएको थियो । त्यसपछि अध्यक्ष केपी शर्मा ओली सरकारबाट हट्ने परिस्थिति बन्यो । अहिले फेरि एमालेले राष्ट्रिय सभाको निर्वाचनमा १९ सिटमा कुनैपनि नजित्ने सम्भावना देखिएको छ ।

१२ माघमा राष्ट्रियसभाको रिक्त १९ सिटमा मतदान हुनेछ । मतभारका हिसाबले राष्ट्रियसभामा सदस्य चयन हुनेछन् । मतभार हेर्दा एमालेले यसअघि जितेको ८ मध्ये सबै सिट गुमाउने सम्भावना छ ।

राष्ट्रियसभाका २० सांसदले चार वर्षे कार्यकाल २० फागुनमा पूरा हुँदैछ । त्यस अघि नै १ मनोनितबाहेक १९ सांसदका लागि निर्वाचन आयोगले निर्वाचन गर्न लागेको हो । ४ वर्षे कार्यकाल पूरा गर्न लागेकामा एमालेका ८, माओवादीका ४, नेकपा एसका ४, काँग्रेसका ३ र मनोनित १ छन् ।

प्रदेशबाट निर्वाचित हुने राष्ट्रियसभा सांसदहरुको चुनाव नजिकिदै गर्दा मतभारको जोडघटाउ हुन थालेको छ । एमाले प्रदेश १ मा मात्र सत्ता गठबन्धनभन्दा बढी मतभारको अवस्थामा छ । तर, बहुमतमा छैन ।

राष्ट्रियसभामा प्रदेशतर्फ प्रदेश सांसद, स्थानीय निकायका पालिका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउँछन् । प्रदेश सांसदको प्रत्येकको मतभार ४८ र पालिका प्रमुख वा उपप्रमुख प्रत्येकको मतभार १८ हुने व्यवस्था छ । यसलाई आधार मान्दा प्रदेश १ मा एमालेको मतभार ४५४२ छ । गठबन्धन दलको ४४६४ र अन्य दलको ३४२ छ । अन्य दल मिलेमा एमालेलाई प्रदेश १ मा झड्का लाग्छ । राप्रपाले प्रदेश १ मा आफ्नै उम्मेदवारलाई बढाएको छ । यसकारण गठबन्धनलाई फाइदा हुने देखिन्छ ।

प्रदेश २ मा एमालेको ९४२ हुँदा गठबन्धनको ७१९४ छ । त्यहाँ गठबन्धनको जसपा बलियो छ । लोसपासहित अन्यको १७४२ मतभार छ । एमाले र लोसपा एक्लै चुनाव लड्ने भएका छन् । राष्ट्रियसभामा कार्यकाल सकिन लागेका १ एमाले सांसद छन् । विभाजनको ठूलो असर परेकाले राष्ट्रियसभामा प्रदेश २ बाट एमाले सुन्य सिटमा पुग्न सक्छ । त्यहाँ गठबन्धनकै सबै उम्मेदवार जित्ने अवस्था देखिन्छ ।

बागमती प्रदेशमा एमालेको ४१४२ हुँदा गठबन्धनको ४८९० छ । विवेकशील, राप्रपासहित अन्यको ४७४ छ । गठबन्धन बहुमतमा रहेको छ । बागमतीमा एमालेलाई सबैभन्दा ठूलो धक्का पर्ने देखिन्छ । नेमकिपाले पनि उम्मेदवारी दिएको छ । यसको फाइदा गठबन्धनलाई नै पुग्ने देखिन्छ ।

गण्डकीमा एमालेको ४१४२ मतभार हुँदा गठबन्धनको ४८९० छ । अन्य दलको ४७४ छ । गठबन्धन बहुमतमा देखिन्छ । एमालेले गण्डकीमा पनि सिट गुमाउँदैछ ।
लुम्बिनीमा एमालेको ३२७६ मतभार हुँदा गठबन्धनको ४२०६ छ । अन्यको २७८ छ । लुम्बिनीमा पनि एमालेले सिट गुमाउने अवस्था छ । लुम्बिनीमा २ जना एमाले सांसदको कार्यकाल सकिदैछ । विभाजनको असर परेबाट एमालेले गठबन्धनसँग लड्दा सिट गुमाउनसक्छ ।

कर्णालीमा एमालेलाई सबैभन्दा ठूलो धक्का परेको छ । त्यहाँ उसको मतभार १४३४ र गठबन्धनको २८९८ छ । अन्यको १९२ मत छ । कर्णालीमा एमाले विभाजनको सबैभन्दा ठूलो नोक्शान देखिन्छ । कर्णालीका हस्ती नेताहरुले एमाले त्यागेर नेकपा एस स्थापनामा माधव नेपाललाई साथ दिएका थिए । यसको असर राष्ट्रिय सभा निर्वाचनमा देखिने अवस्था छ । कर्णालीमा कार्यकाल सकिन लागेका एमालेका १ सांसद छन् । त्यहाँ पनि एमाले सून्यमा झर्न सक्छ ।

सुदूरपश्चिममा पनि एमाले विभाजनको ठूलो असर परेको छ । एमाले विभाजनपछि मतभार घटेर १७८८ मा सिमित भएको छ । गठबन्धनको मतभार ३५२५ छ । अन्यको ८४ छ । एमालेले यो प्रदेशबाट कम्तिमा २ सांसद सिट गुमाउने निश्चित छ । कार्यकाल सकिन लागेका ३ राष्ट्रिय सभा सांसद सुदूरपश्चिमका हुन् । जसमध्ये एक एमालेका छन् । यो सिट पनि गुम्ने देखिन्छ ।

गठबन्धनले एमालेलाई राष्ट्रियसभा निर्वाचनमा यसअघि पनि झड्का दिएका थिए । फेरि ठूलो झड्का दिने सम्भावना छ । गठबन्धन अबको चुनावसम्म अगाडि बढेमा एमालेले ठूलो धक्का खाने सम्भावना छ । त्यसैले पनि नेपाली काँग्रेसका प्रभावशाली नेताहरु शेरबहादुर देउवा र रामचन्द्र पौडेल गठबन्धन आमनिर्वाचनसम्म कायम राख्ने पक्षमा देखिएका छन् । यो सम्भव भएमा ओलीलाई ठूलो राजनीतिक धक्का लाग्न सक्छ । काँग्रेस सहमहामन्त्री महेन्द्र यादवले त गठबन्धन कायमै राखेर एमालेलाई सून्यमा झार्ने ठोकुवा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot