Logo

पुनर्कर्जा आधाभन्दा बढी पर्यटनमा



काठमाडौं, पुस २३ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो चार महिनामा (साउन–कात्तिकसम्म) करिब नौ अर्ब रूपैयाँ पुनर्कर्जा प्रवाह गरेको छ। यस अवधिमा प्रवाह भएको पुनर्कर्जामध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रमा गएको छ।

राष्ट्र बैंकका अनुसार ४ महिनामा ४ अर्ब ९५ करोड रूपैयाँ पुनर्कर्जा पर्यटन क्षेत्रमा गएको छ। यो यस अवधिमा प्रवाह भएको कर्जाको ५५.०६ प्रतिशत हो।

पर्यटनपछि धेरै पुनर्कर्जा उत्पादनमूलक क्षेत्रमा (२०.४३ प्रतिशत) गएको छ। ४ महिनाको अवधिमा जलविद्युत् क्षेत्रमा १६.२३, यातायातमा २.७३, शिक्षामा २.७२, अस्पतालमा २.२२ र कपडा उद्योगमा ०.६१ प्रतिशत पुनर्कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ। यो कर्जा विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत प्रवाह भएको हो।

प्रदेशगत हिसाबले सोही अवधिमा सबभन्दा धेरै पुनर्कर्जा संघीय राजधानी रहेको वाग्मती प्रदेशमा गएको छ। ४ महिनामा प्रवाह भएको कुल पुनर्कर्जामध्ये वाग्मतीमा करिब ४७ प्रतिशत लगानी भएको छ भने गण्डकीमा २६.२७, लुम्बिनीमा १३.५४, प्रदेश २ मा ५.४८ र प्रदेश १ मा ७.२७ प्रतिशत पुनर्कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकले कोरोना प्रभावित उद्योग, व्यवसायीलाई सहयोग पुग्ने गरी गत वर्ष पुनर्कर्जा कोषमा रहेको ४२ अर्ब रूपैयाँको चार गुनासम्म कर्जा प्रवाह गर्ने कार्यक्रम ल्याएको थियो। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot