काठमाडौं, २३ पौष । जतिसुकै शक्तिशाली भएपनि राजनीतिमा एउटा शक्ति एकातिर बाँकी अर्कातिर भएमा परिणाम एकता बनाउनेहरुको पक्षमा जान्छ । नेपालको राजनीतिमा केपी शर्मा ओलीविरुद्ध बाँकी शिर्ष नेताहरु लाग्दाको परिणाम देखिइसकेको छ ।
तत्कालीन नेकपा हुँदा ओलीविरुद्ध तीन पूर्वप्रधानमन्त्रीहरु एकसाथ सडकमा पुगेका थिए । पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल हामी यहाँ छौं भन्दै सडकमा पुगे । त्यसलाई ओलीले उपहास गरे । ओलीले आफ्नै दलका तीन पूर्वप्रधानमन्त्रीहरुलाई सडकमा पुर्याएको भन्दै चर्चा भयो । तर, विस्तारै परिणाम ओलीको विपक्षमा जानथाल्यो ।
ओलीले केन्द्रको सत्ता गुमाए । ७ मध्ये ६ प्रदेशमा सरकारबाट बर्हिगमन हुनुपर्यो । स्थानीय सरकारमा ओली खुम्चिए । त्यसमा पनि कतिपयले एमाले छाडे ।
राष्ट्रियसभाको बागमती प्रदेश अन्तर्गतको एक सिटका लागि भएको उपचुनावमा भोट क्रस भई कलम चिन्हका खिमलाल देवकोटाले सुर्य चिन्हका बादललाई पराजित गरे । गठबन्धनले कलमलाई जिताएर देखाए । लुम्बिनीको राष्ट्रियसभा उपनिर्वाचनमा पनि गठबन्धनबाट काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका थिए ।
१२ माघमा हुने १९ सिटको राष्ट्रियसभा निर्वाचनमा पनि गठबन्धन एकजुट छन् । एमालेले ८ सिट जितेको विगतका सिटहरु गुमाउने निश्चित जस्तै छ । यसरी ओलीलाई गठबन्धनको शक्ति निकै भारी परिरहेको छ । यतिसम्मकी गठबन्धन यसरी नै टिकिरहेमा आमनिर्वाचनमा नराम्रो धक्का खाने परिस्थिति बनेको छ ।
अबको चुनावमा के होला
सत्ता गठबन्धन आउँदो चुनावसम्म मिलेर जाने चर्चा पनि छ । त्यो कठिन छ तर असम्भव होइन । गठबन्धन रहेर चुनावमा गएमा नेकपा एमालेका लागि ठूलो राजनीतिक धक्का पर्न सक्छ । २०७४ सालको चुनावी मतलाई हेर्ने हो भने पनि एमालेको निकै कम सिटमा जित्ने सम्भावना रहन्छ ।
२०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन बन्दा एमालेले १०३ र माओवादी केन्द्रले ५९ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ चुनावमा उम्मेदवार उठाएका थिए । जनमोर्चालाई एक सिट, हृदयश त्रिपाठीको समूहलाई दुई सिटमा साथ दिएका थिए ।
एमालेको सुर्य चिन्ह लिएर उम्मेदवार बनेका १०३ मध्ये ८० जना विजयी भएका थिए । गोलाकारभित्र हँसिया हथौडा चुनाव चिन्ह लिएर माओवादीका २३ उम्मेदवार विजयी भएका थिए । एमाले र माओवादीको गठबन्धन सफल भएको थियो । एक्लै चुनाव लडेको नेपाली काँग्रेस निकै खुम्चियो । उसले प्रत्यक्षतर्फ २३ सिटमा मात्र जित हासिल गरेको थियो । त्यो भन्दा झण्डै दोब्बर बढी समानुपातिकतर्फ सिट ल्यायो ।
२०७० सालको निर्वाचनमा हार व्यहोरेको धेरै क्षेत्रमा एमाले उम्मेदवार माओवादीसँगको गठबन्धनले विजयी भएका थिए ।
माओवादीसँगको गठबन्धनले ८० स्थानमा प्रत्यक्षतर्फको उम्मेदवारलाई विजय बनाउन सकेको एमालेले आउँदो निर्वाचनमा एक्लै लडेमा विगतको सफलता दोहोराउन असम्भवप्रायः छ । साख जोगाउनै मुश्किल पर्न सक्छ ।
माओवादीसँगको एकता समाप्त भएको छ । एमाले आफै विभाजित छ । काँग्रेस, माओवादी केन्द्र, एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन बनेको छ । फुटेको एमालेले पाँच दलीय गठबन्धनसँग चुनाव एक्लै लडेमा ठूलो धक्का खान सक्छ ।
विघटित प्रतिनिधि सभामा निर्वाचित एमालेका ८० मध्ये ३१ जनाले १० हजार भन्दा बढी मतान्तरले जित हासिल गरेका थिए । १६ जनाले ७ हजार, ११ जनाले ५ हजार, ६ जनाले ३ हजार, ६ हजारले २ हजार, ५ जनाले १ हजार, ३ जनाले ५ सय र ३ जनाले ५ सयभन्दा कम मतान्तले जीत हासिल गर्न सकेका थिए । यो तथ्यांकलाई आधार मान्ने हो भने माओवादीसँग विना गठबन्धनमा जाँदा एमालेलाई सिधै ५० सिटमा झट्का लाग्ने देखिन्छ । माओवादीको मत एमालेलाई पर्दा कम्तिमा ५० सिटमा जीत सुनिश्चित भएको हो । बाँकी ३० सिटमा पनि फुटेको एमालेका लागि जीत निकै कठिन हुने देखिन्छ । त्यसमाथि काँग्रेससँग माओवादी, नेकपा एस, जसपा र राजमो मिलेर बनेको गठबन्धनसामु एमाले निरिह हुने अवस्था बन्न सक्छ ।
अर्को रोचक पक्ष, १० हजारभन्दा मतान्तरले जीत हासिल गर्नेमा नेकपा एसमा लागेका हालका प्रत्यक्ष निर्वाचित सांसदहरुको संख्या उल्लेख्य छ । जसमा माधवकुमार नेपाल, झलनाथ खनाल, सोमनाथ पाण्डे, विरोध खतिवडा, मेटमणी चौधरी, कृष्णलाल श्रेष्ठलगायत छन् । एमाले छाडेका बलिया नेता तथा उम्मेदवारहरुका कारण पनि एमालेको लागि यथास्थितिमा अबको चुनाव सजिलो छैन ।
गठबन्धन टिकाउन काँग्रेसभित्र दबाब परिरहेको छ । देउवा गठबन्धन जोगाइराख्न चाहन्छन् । उनीपक्षीय काँग्रेस सहमहामन्त्री महेन्द्र यादवले चुनावसम्म गठबन्धन रहने बताएका छन् । उनले एमालेलाई सून्यमा झार्ने ठोकुवा समेत गरेका छन् । यादवको भनाई अपत्यारिलो लाग्न सक्छ । तर, पाँच दलीय गठबन्धन एकजुट भएमा ओलीका लागि अबको चुनाव फलामको च्यूरा सावित हुनसक्छ । त्यसैले उनी कुनैपनि रणनीति चालेर भएपनि गठबन्धन तोड्न लागेका छन् ।