Logo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसहित ११ जनालाई कोरोना संक्रमण



काठमाडौँ, २४ पुस। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पार्टीका ११ जना नेता कार्यकर्तालाई कोरोना संक्रमण भएको छ ।

नेता कार्यकर्ता धमाधम अस्वस्थ्य भएपछि केन्द्रीय कार्यालय सिल गरिएको छ । प्रचण्डलाई लक्षण देखिएपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । प्रचण्डलाई कोरोना पुष्टि भएको उनको सचवालले जानकारी दिएको हो । प्रचण्ड आठौँ महाधिवेशनमा पुनः अध्यक्षमा निर्वाचित भएपछि उनलाई बधाई दिन पुगेकाहरु अधिकांशमा संक्रमण देखिएको छ ।

वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसहित वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा, वाइसिएल अध्यक्ष सुमन देवकोटा, केन्द्रीय सदस्य सुवोध शेर्पाली, वागमती प्रदेश अध्यक्ष तथा प्रचण्डका पूर्वअंगरक्षक प्रकाश पाण्डे, स्वकीय सचिव रमेश मल्ललाई पनि संक्रमण भएको छ । उनीहरु अध्यक्ष प्रचण्डलाई आन्तरिक रुपमा बधाई दिन पुगेका थिए ।

त्यस्तै, अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंह, नेताहरु हरिबोल गजुरेल, मात्रिका यादव, डोरप्रसाद उपाध्यायलगायतका नेतालाई संक्रमण पुष्टि भइसकेको छ । नेता कार्यकर्तामा धमाधम संक्रमण देखिन थालेपछि महाधिवेशनबाटै फैलिएको आशंका गरिएको छ ।

अध्यक्ष प्रचण्डलाई नै संक्रमण भएपछि उनीसँग भेटघाट तथा नजिक रहेका सबै नेता कार्यकर्तालाई कोरोना परीक्षण गर्न सुझाव दिइएको छ । नेता कार्यकर्तामा कोरोना संक्रमण देखिन थालेपछि पार्टीका सबै गतिविधि ठप्प भएको छ ।



प्रतिक्रिया दिनुहोस्