Logo

व्यापारिक भवनको महसुल तिरेपछि प्राधिकरणले बत्ती जोड्यो



मङ्गलबारे, २४ पुस: बक्यौता रहेको रु एक लाख ७२ हजार महसुल रकम तिरेपछि इलाम नगरपालिकाको व्यापारिक भवन सिटी मार्टको लाइन पुनः सञ्चालन भएको छ ।

विद्युत् महसुल नतिरेपछि नेपाल विद्युत् प्राधिकरणले सो मार्टको लाइन काटेको थियो । व्यापारिक महललगायत एक हजार २५० जना ग्राहकको लाइन काटेको सम्बन्धी समाचार शुक्रबार राससमा आएको थियो । समाचार आएपछि नगरपालिकाले पैसा महसुल तिरेको छ । महसुल तिरेपछि विद्युत् सञ्चालन भएको हो ।

हालसम्मको बक्यौता रकम रु एक लाख ७२ हजार महसुल नगरपालिकाले तिरेपछि पुनः विद्युत् लाइन सञ्चालन भएको नेपाल विद्युत् प्राधिकणका प्रमुख देवराज पौडेलले जानकारी दिए । ‘६० दिनभित्र महसुल नतिरे लाइन काट्नुपर्ने प्रावधान छ । इलाम नगरपालिकाले चार महिनाको महसुल बुझाउन बाँकी रहेको थियो ।

प्राधिकरणले चालु आर्थिक वर्षमा विद्युत् महसुल नतिर्ने एक हजार २५० जना ग्राहकको विद्युत् लाइन काटेको छ । गएको साउनदेखि हालसम्ममा दुई महिनादेखि महसुल नतिर्ने ग्राहकको लाइन काटिएको हो । बत्ती बालेर ६० दिनसम्म पैसा नतिर्ने ग्राहकको विद्युत् काटिएको प्राधिकरण इलामका प्रमुख देवराज पौडेलले जानकारी दिए ।

उनका अनुसार विद्युत् काटिए पनि करिब ९० प्रतिशत ग्राहकले पुनः महसुल तिरेपछि विद्युत् जडान गरिएको छ । करिब १० प्रतिशत ग्राहकले अझै महसुल नतिरेपछि विद्युत् जडान गरिएको छैन । बत्ती काट्न थालेपछि अटेर गर्ने ग्राकहहले समयमा नै पैसा तिर्ने भएकाले पनि प्राधिकरणले यस्तो गर्न थालेको जनाइएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्