Logo

संसदको चुनावमा गठबन्धन गर्ने या नगर्नेबारे काँग्रेसमा विवाद



काठमाडौं, २४ पौष । नेपाली काँग्रेसभित्र तीन तहको चुनावमा गठबन्धन गर्ने या नगर्नेबारे विवाद छताछुल्ल भएको छ । काँग्रेसमा प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धन बनाउनुपर्नेमा एउटा पक्षले बोल्न थालेको छ । अर्को पक्षले गठबन्धन गर्न नहुने अभिव्यक्ति दिन थालेको छ ।

सभापति शेरबहादुर देउवाले गठबन्धन चुनावसम्म जाने बताइसकेका छन् । तर, उनले चुनावमा पनि गठबन्धन हुने या नहुने प्रष्ट पारेनन् । देउवानिकट सहमहामन्त्री महेन्द्र यादवले गठबन्धन चुनावमा पनि हुने बताए । उनले एमालेलाई सुन्यमा झार्ने ठोकुवा गर्दै गठबन्धन हुने बताएका छन् ।

काँग्रेस नेता रामचन्द्र पौडेल पनि गठबन्धन चुनावमा पनि बनाउनुपर्ने पक्षमा छन् । अहिलेको निर्वाचन प्रणालीले कुनै विशेष परिस्थितिमा बाहेक एक दलको बहुमत नआउने भएकाले गठबन्धन वाध्यकारी भएको बताइसकेका छन् । उनी पनि अरु दलसँग गठबन्धन गरेर जानुपर्ने पक्षमा छन् ।

देउवा र पौडेल पक्षभन्दा फरक मत डा. शेखर कोइराला पक्षले राख्न थालेको छ । कोइरालाले चुनावमा काँग्रेस एक्लै जाने बताएका छन् । काँग्रेस कार्यकर्ताले रुखबाहेकमा मतदान नगर्ने भन्दै एक्लै चुनावमा जानुपर्ने बताए । उनले चुनावमा गठबन्धन गर्न नहुने बताए ।

कोइरालानिकट काँग्रेस महामन्त्री गगन थापा चुनावमा काँग्रेस एक्लै जानुपर्ने पक्षमा छन् । उनले पनि राष्ट्रियसभा निर्वाचनपछि चुनावी गठबन्धन नहुने बताइसकेका छन् । उनको यो अभिव्यक्ति राष्ट्रियसभा निर्वाचनलाई प्रभावित पार्ने खालको भएको तर्क समेत गर्न थालिएको छ । राष्ट्रियसभामा डा. शेखर कोइराला पक्षीय उम्मेदवार छैनन् । यसकारण उक्त पक्ष असन्तुष्ट छ ।

काँग्रेसभित्र चुनावमा एक्लै जाने या गठबन्धन बनाएर जानेबीच विवाद देखिन थालेको छ । यसले काँग्रेसभित्र ठूलै चुनौती ल्याउने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्