Logo

मूल्य वृद्धिको मारमा उपभोक्ता



काठमाडौं, पुस २६ । पछिल्लो एक वर्षको अवधिमा बजारमा दैनिक उपभोग्य वस्तुको उच्च मूल्य वृद्धि भएको छ । इन्धनदेखि हरियो तरकारी तथा फलफूल, खाद्यवस्तुलगायतमा भएको मूल्य वृद्धिले सबैभन्दा बढी निम्न तथा मध्यमवर्गीय उपभोक्ता मारमा परेका छन् ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो एक वर्षमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि औसतमा २५ प्रतिशतले भएको हो । सङ्घका अनुसार अघिल्लो वर्ष यो बेला प्रतिकेजी ७५ रुपियाँमा बिक्री भएको चिनी अहिले बढेर १०० रुपियाँ पुगेको छ । पछिल्लो एक वर्षमा मास, रहर, मुसुरो, मुग, राजमा, केराउ, चना, बोडीलगायतका दालजन्य वस्तुमा प्रतिकेजी १० रुपियाँदेखि २० रुपियाँसम्म बढेको छ ।

खुद्रा व्यापार सङ्घका महासचिव अमूल तुलाधरले सरकारको नियमनकारी निकाय सक्रिय नहुँदा ठूला व्यापारीका कारण आमउपभोक्ता महँगीको मार खेप्न बाध्य भएको बताए । उनको गुनासो छ, “थोक व्यापारीबाट सामानको सही बिलबिजक नपाउने र बिलबिजकबिनाका सामान बिक्री गर्दा सरकारी संयन्त्रको कारबाहीमा पर्नुपरेको छ । ”

उपभोक्ता अधिकारकर्मी सरकारका नियमनकारी निकायको बजार अनुगमन प्रभावहीन बन्दै गएको आरोप लगाउँदै आएका छन् । राष्ट्रिय उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सरकारका नियमनकारी निकायले उपभोक्ताप्रति जिम्मेवार भएर बजार अनुगमन गर्न नसकेको आरोप लगाए ।

सरकारले बजारमा सामानको माग र आपूर्तिलाई व्यवस्थित गर्न नसक्दा बजार भाउ सीमित व्यापारीको नियन्त्रणमा भएको उनको भनाइ छ । सरकारको नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आफूखुसी मूल्य वृद्धि गरेको प्रमाणित भएका सबैलाई कारबाही जरिवाना गर्दै आएको दाबी गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot