Logo

महेन्द्र रायलाई मन्त्रीबाट हटाउने उपेन्द्र यादवको प्रयास



काठमाडौं, २६ पौष । जनता समाजवादी पार्टीभित्रको विवाद चुलिदै जाँदा अध्यक्ष उपेन्द्र यादव आक्रामक रुपमा प्रस्तुत हुन थालेका छन् । उनले पार्टीबाट मन्त्री बनेकालाई समेत हटाउने तयारी गरेका छन् ।

जसपाबाट कृषिमन्त्री बनेका महेन्द्र राय यादवलाई हटाउन उपेन्द्र यादवले भित्री तयारी थालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल पुर्नगठनको तयारी गरिरहँदा महेन्द्र रायलाई हटाएर आफ्ना विश्वासपात्रलाई लाने गरी यादवले तयारी थालेको बुझिएको छ ।

महेन्द्र यादवले आफूलाई असहयोग गरेको र बाबुराम भट्टराईसँग नजिकिएको भन्दै उपेन्द्र यादव असन्तुष्ट छन् । सर्लाहीमा महेन्द्र रायलाई चुनौती दिने गरी उपेन्द्र यादवले पार्टी समायोजनको कदम चाले । त्यसप्रति महेन्द्र उपेन्द्रसँग रुष्ट भए ।

उपेन्द्रले पार्टी बैठकमा आफूनिकटस्थ मार्फत् पार्टी विरोधी गतिविधि गर्नेलाई सरकारबाट फिर्ता बोलाउनुपर्छ भन्न लगाएका छन् । महेन्द्र रायतर्फ यो संकेत थियो ।

जसपाबाट सरकारमा जाँदा उपेन्द्रले महेन्द्रको नेतृत्वमा पठाउने चर्चा थियो । तर, महेन्द्रलाई भौतिक र संघीय मामला नदिई कृषि दिइयो । यसपछि महेन्द्र उपेन्द्रसँग असन्तुष्ट भएका थिए । महन्थ ठाकुरको साथ छाडेर उपेन्द्रलाई साथ दिएपनि मूल्यांकन नगरिएको भन्दै महेन्द्रले असन्तुष्टि पोखे । तर, पछि महेन्द्रलाई उनकै जिल्ला सर्लाहीमा उपेन्द्रले चुनौती दिन थाले । त्यसपछि दुई नेताबीच विवाद चुलियो ।

अब उपेन्द्रले महेन्द्रलाई सरकारबाट फिर्ता बोलाउने गरी कदम चाल्न लागेको बुझिएको छ । उनले देउवालाई भनेर मन्त्रीबाट फिर्ता बोलाउनेसम्म तयारी गर्न लागेको विश्वस्त स्रोतले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्