Logo

विद्यार्थीको आन्दोलनप्रति संयुक्त विद्यार्थी संगठनको ऐक्यवद्धता, माग पुरा गर्न आग्रह



काठमाडौं, २६ पुस । संयुक्त विद्यार्थी संगठनको सोमबार बसेको बैठकले विभिन्न मेडिकल कलेजका विद्यार्थीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै माग पूरा गर्न आग्रह गरेको छ । अनेरास्ववियुको केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा सोमबार बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले उक्त निर्णय गरेको बैठकमा सहभागी नेविसंघका महामन्त्री दीपक भट्टराईले बताए ।

बैठकले विराटनगरको नोबेल मेडिकल कलेज र काठमाडौं उपत्यकामा रहेको काठमाडौं मेडिकल कलेजको समस्या समाधान गर्न माग गरेको हो ।

नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियनलगायत संगठनहरूले विराटनगरको नोबेल मेडिकल कलेजको आन्दोलनमा विद्यार्थीमाथि आक्रमण भएको भन्दै कारबाहीको मागसमेत गरेका छन् ।

चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा चर्को शुल्क लिने र अभिभावकहरूलाई धम्कि दिएको विरोधमा विद्यार्थीहरुले गरेको आन्दोलनप्रति सात विद्यार्थी संगठनले एक्यबद्धता जनाएको समेत महामन्त्री भट्टराईले जानकारी दिए ।

आज एक विज्ञप्ती जारी गर्दै विद्यार्थी संगठनले आइतबार उक्त कलेजमा शान्तिपुर्ण रुपमा आन्दोलनमा उत्रेका विद्यार्थीहरुमाथि कलेज प्रशासनले भाडाका गुन्डाहरुको प्रयोग गरेको आरोप लगाएको छ ।

विभिन्न राजनैतिक पार्टीका नेताहरुसँग शैक्षिक माफिया र मेडिकल माफियाहरुले व्यक्तिगत सम्बन्ध स्थापित गरि आफ्नो स्वार्थ अनुकुल प्रयोग गरेको भन्दै त्यस्ता कार्यमा सम्लग्न रहेका राजनीतिक दलका नेताहरुको भन्डाफोर र खबरदारी समेत गर्ने विद्यार्थी संगठनको माग छ ।
आन्दोलनरत विद्यार्थीहरुमाथि भएको दमनविरुद्ध गृहमन्त्री र शिक्षा मन्त्रीको ध्यानाकर्षण गराउने संयुक्त विद्यार्थी संगठनले निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot