Logo

बाबुरामको घेराबन्दीमा पर्दै उपेन्द्र



काठमाडौं, २६ पौष । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवमाथि आन्तरिक चुनौती बढ्दै गएको छ । उनी पार्टीभित्र घेराबन्दीमा पर्दै गएका छन् ।

यादवसँग पार्टीका प्रभावशाली नेताहरु असन्तुष्ट मात्र भएका छैनन् उनीविरुद्ध एकजुट समेत हुनथालेका छन् । जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई यादवको कामप्रति असन्तुष्ट छन् ।

राष्ट्रियसभामा पार्टीको तर्फबाट उम्मेदवार बनाउँदा आफूलाई बेवास्ता गरेको भन्दै भट्टराई असन्तुष्ट भएका हुन् । उनलाई विगतमा साथ दिइआएका नेताहरु पनि असन्तुष्ट भएका छन् ।

कृषिमन्त्री महेन्द्र राय यादवले उपेन्द्र यादवको साथ छाडेका छन् । जसपाबाट सरकारमा जाँदा महेन्द्रले नेतृत्वसहित भौतिक मन्त्रालयको आशा राखेका थिए । उनले दुवै पाएनन् । कृषि मन्त्रालय मात्र पाए । अर्कोतर्फ, उनको गृहजिल्ला सर्लाहीको पार्टी राजनीतिमा उपेन्द्र यादवले बढी हस्तक्षेप गरेको भन्दै असन्तुष्ट छन् । सर्लाहीमा महेन्द्र रायलाई काउन्टर दिन प्रमोद शाहलाई प्रमुख सचेतक बनाएको चर्चा चलेको छ ।

उपेन्द्रसँग अशोक राई, राजकिशोर यादवलगायत नेताहरु पनि असन्तुष्ट छन् । विगतमा उनलाई साथ दिदै आएकाहरु समेत असन्तुष्ट छन् । यसकारण यादव एक्लिदै गएका छन् । उनी पार्टीभित्रका प्रभावशाली नेताहरुको घेराबन्दीमा परेका छन् ।

जसपाभित्र उपेन्द्र यादवको टकराव बाबुराम भट्टराईसँग बढ्दै गएको छ । यो अवस्था बढ्दै गएमा पार्टी फुटमा समेत जानसक्ने जसपाका एक प्रभावशाली नेताले बताए । स्थिति बिग्रदै जाँदा उपेन्द्र र बाबुराम एकसाथ रहन नसक्ने अवस्था विकास भइरहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot