Logo

एक सातामै तेब्बर बढ्यो कोरोना



काठमाडौं, पुस २७। पछिल्लो एक सातामा कोरोना संक्रमण फैलने दर तेब्बर बढेको छ । एक सातामा १ हजार ९ सय ८७ जना संक्रमित थपिएका छन् । २३ पुसदेखि हालसम्मको आँकडा हेर्दा संक्रमित दर तेब्बरले बढेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन आएसँगै संक्रमण हुने दर उच्च बिन्दुमा बढिरहेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि पछिल्लो एक सातादेखि संक्रमित हुने दर बढेको पाइएको छ । कोरोना भाइरसको औसत ‘आर–भ्यालु’ १.०४ को दरमा बढिरहेको छ । आर–भ्यालु एकभन्दा बढी भए संक्रमण उकालो लागिरहेको बुझिन्छ । आर–भ्यालुले कोभिड संक्रमित एक जनाले कति जनालाई भाइरस सारिरहेको छ भन्ने देखाउँछ । आर–भ्यालुसँगै संक्रमितको संख्या पनि उकालो लाग्नुलाई कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसँग पनि जोडेर हेरिएको छ ।

संक्रमण दरको यो गतिलाई स्वास्थ्य विज्ञले कोरोना महामारीलाई तेस्रो लहर भनेका छन् । यसअघि कोरोनाको दोस्रो लहरमा नेपालमा ठूलो धनजनको क्षति हुन पुगेको थियो । अहिलेकै संक्रमण दर बढिरहे र संक्रमण रोक्ने उपाय नसोचे संक्रमण दर झनै बढ्न सक्ने विज्ञको भनाइ छ । संक्रमण दर बढेसँगै ठूला अस्पतालमा कोरोनाका बिरामीको संख्या पनि बढ्न थालेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot