मान्म, २७ पुस: कालीकोटमा १९ हजार ४०२ बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाइएको छ । लक्ष्यभन्दा ३७२ थप बालबालिकालाई सो खोप लगाइएको हो । यही पुस १२ गतेदेखि सञ्चालन गरिएको खोप अभियान जिल्लाका नौवटा स्थानीय तहका ८२ वटा वडाका विभिन्न १४२ वटा विद्यालय तथा स्वास्थ्य संस्था सञ्चालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी कटकबहादुर मतले भने, “१२ देखि १७ वर्ष उमेर समूहका शत्प्रतिशत बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडर्ना खोप दिएका छौँ । खोप नियमित रुपमा लगाउने व्यवस्था गरेका छौँ ।”
जिल्लामा गत २०७७ माघदेखि हालसम्म विभिन्न चरणमा गरी ७० हजार ५४२ जना नागरिकलाई पहिलो र २९ हजार ३७५ जनालाई कोभिड–१९ विरुद्धको दोस्रो मात्रा खोप लगाएको उहाँले जानकारी दिनुभयो । खोप नलिएका १८ वर्षमाथिका नागरिकलाई भेरोसेलको पहिलो मात्रा खोपसमेत लगाइने व्यवस्था गरिएकोे सूचना अधिकारी महतले जानकारी दिए ।-रासस