चितवन, २७ पुस: चितवनमा १८ वर्ष माथिका ९० प्रतिशतले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । ती उमेर समूहका चार लाख हाराहारी जनसङ्ख्या रहेका जिल्लामा तीन लाख ७० हजार ५४४ जनाले खोप लगाएका हुन् ।
पहिलो मात्रा लगाएकामध्ये तीन लाख २० हजार नौ जनाले पूर्ण मात्रामा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार पहिलो मात्रा कोभिसिल्ड ४० हजार ४४३ , भेरोसेल दुई लाख ३७ हजार ६०२ ,एष्ट्राजेनिका ५१ हजार ९६२ , फाईजर बायोएनटेक एक हजार ८६७ र जोन्सन ३८ हजार ६७० जनाले लगाएका छन् । जोन्सन भने एक मात्रा लगाएपछि पूर्ण हुने र अन्य खोप दुई मात्रा लगाउनुपर्ने उहाँले जानकारी बताए ।
यसैगरी पूर्ण मात्रा खोप कोभिसिल्ड÷एष्ट्राजेनिका ८२ हजार ८५३ , भेरोसेल एक लाख ९६ हजार ७२९ , जोन्सन ३८ हजार ६७० र फाईजर बायोएनटेक एक हजार ७५७ जनाले लगाएका छन् । पहिलो मात्रा लगाएको तर दोस्रो मात्रा लगाउने समय भइनसकेको सङ्ख्या २० हजार हाराहारी छ । कतिपय पहिलो मात्रा यहाँ लगाएर अन्य जिल्लामा गएर दोस्रो मात्रा खोप लगाउने गरेको उनको भनाइ छ ।
पछिल्लो समय जिल्लामा अभियानका रुपमा खोप कार्यक्रम सञ्चालन हुँदै आएको छ । जिल्लाका सातै पालिकाले हप्तामा एक दिन खोप लगाउने व्यवस्था गरेका छन् । १८ वर्षमाथिका सबैले खोप लगाउन पाउने गरी व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।
विदेश जानेहरुको हकमा भिसा देखाएपछि सम्बन्धित पालिकाबाटै एक मात्रा लगाए पुग्ने जोन्सन खोप लगाउने व्यवस्था गरिएको छ । विदेश जानेहरुको सङ्ख्या पनि ठूलै रहेको उनको भनाइ छ ।
जिल्लामा १८ वर्षमाथिको जनसङ्ख्या चार लाख हाराहारी रहेको अनुमान गरिएको छ । यस हिसाबले खोप लगाउन बाँकी सङ्ख्या न्यून देखिन्छ । तर जिल्लामा व्यापार व्यवसाय गर्न, पढ्न र कामको खोजीमा आउनेको सङ्ख्या अधिक रहेको छ ।
कार्यालयका प्रमुख भन्नुभयो,“पछिल्लो समय खोप लगाउन आउने बाहिरी जिल्लाबाट यहाँ आएका विद्यार्थी, कामदार, मजदूर बढी देखिएका छन् ।” यसैलाई लक्षित गरी खोप कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरिएको तिवारीले बताए । उनले खोपको अभाव नरहेको जनाउँदै भने, “जिल्लामा खोपको अभाव छैन, माग बमोजिम समयमै खोप आइरहेको छ ।” पछिल्लो समय माग गरेको छोटो समयमा नै खोप आइपुग्ने गरेको उनले जानकारी दिए ।-रासस