काठमाडौं। काठमाडौं उपत्यकासँगै देशैभरि कोरोना संक्रमितको संख्या बढ्दै गएपछि राजनीतिक दलका गतिविधि ठप्प हुन थालेका छन् । सरकारले सभा, सम्मेलनसहित २५ जनाभन्दा बढी व्यक्ति एक ठाउँमा भेला हुनमा रोक लगाएपछि दलका गतिविधि प्रभावित हुन थालेको हो ।
सरकारको पछिल्लो निर्णयसँगै दलहरूले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन् । पार्टीका शीर्ष नेताहरू नै कोरोना संक्रमित हुन थालेपछि दलका बैठक, सम्मेलन, भेलालगायतका कार्यक्रम स्थगित भएको हो ।
पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पार्टीको पूर्व निर्धारित कार्यक्रम स्थगित गर्नुपरेको राजनीतिक दलहरूले जनाएका छन् । माओवादी केन्द्रका नेता गणेश साहले कोरोना संक्रमितको संख्या बढ्दै गएकाले आफ्नो पार्टीको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको बताए ।
माओवादीले २५ पुसमा केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । तर, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठसहित शीर्ष नेताहरू नै कोरोना संक्रमित भएपछि बैठक स्थगित गर्नुपर्ने अवस्था आएको साहले बताए ।
यस्तै, प्रमुख प्रतिपक्षी नेकपा एमालेले समेत पूर्वनिर्धारित प्रदेश अधिवेशन केही समयका लागि स्थगित गरेको छ । यद्यपि, जिल्ला अधिवेशन जारी नै रहेको एमालेले जनाएको छ ।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार पछिल्लो समय पुनः कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि पार्टीको प्रदेश अधिवेशन सरेको बताए । यसअघि ८ माघमा तोकिएको अधिवेशन अब २८ र २९ माघमा हुने उनले बताए ।
यस्तै, जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सहितका दलको बैठक, छलफल, भेलालगायतका कार्यक्रम पनि रोकिएको छ । जसपा कार्यकारिणी सदस्य मनीष सुमनले पार्टीका सबै कार्यक्रम अहिले स्थगित गरिएको बताए । लोसपा नेता सञ्जय यादवले पार्टीका कार्यक्रम केही समयका लागि स्थागित गरिएको बताए । राजधानी दैनिकबाट