Logo

पोर्चुगलमा ३००औं पृथ्वी जयन्ती यसरी मनाइयो



पोर्चुगल । राष्ट्रपिता पृथ्वी नारायण शाहको ३००औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पौष २७ गते पोर्चुगलमा दिपप्रज्वलन कार्यक्रमको आयोजना गरि मनाइएको छ । पोर्चुगलस्थित् मंगलबार मोन्ते गोरदो बसुन रेष्टुरेन्टमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका राष्ट्रिय अध्यक्ष आइतराम तामाङले पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरेका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष तामाङले पृथ्वीनारायण शाहको योगदानको स्मरण गराए । उनले बाइसे चौबिसे टुक्रा–टुक्रा राज्यलाई एकिकरण गरेर एक ढिक्का नेपाल बनाएकै हुनाले आज गर्वका साथ नेपाली भन्न पाएको बताए । उनले भने, ‘पृथ्वीनारायण शाहले टुक्रा–टुक्रा राज्यलाई एकिकरण गरेको हुनाले आज हामीले नेपाली भन्न पाएका छौं, उहाँले एकिकरण नगरेको भए आज हामी एउटा सानो राज्यका हुनेथियौ, देशका होइनौ । उहाँको योगदानलाई कसैले भुल्न हुँदैन्, सधै सम्मान गर्नुपर्छ ।’ राजा शाहले सिंगो नेपाल बनाइदिएकै कारण राजनीतिक दल र नेताहरु आज राष्ट्रपति र प्रधानमन्त्री बन्न पाएको भन्दै तामाङले पृथ्वीनारायण शाहको राष्ट्रप्रतिको योगदानलाई भुल्न नहुने जिकिर गरे ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका विदेश विभाग प्रमुख खेम गुरुङ, केन्द्रीय सदस्यहरु सन्तोष आले, पवित्रा गुरुङ, समिज्ञा राई श्रेष्ठ, सोम गुरुङ, सिमा वुमुजा पुन, युवा व्यवसायी मच्छिन्द्र अर्याल लगायत पोर्चुगलमा बसोबास गर्ने नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो । सबैले पृथ्वी नारायण शाहको योगदानको स्मरण गरेका थिए । नेपालमा पनि रा.प्र.पा नेपालले पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको थियो ।

पृथ्वीनारायण शाहको विसं १७७९ पुस २७ गते गोरखामा तत्कालीन राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाहले राज्यरोहण गरेका थिए । ५२ राज्यमा विभाजित नेपाललाई पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न सफल भएका थिए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्