बागलुङ, ३० पुस: काठेखोला गाउँपालिका–५ रामकोटधाममा शनिबारदेखि आयोजना गर्ने भनिएको बिहुँकोट धार्मिक महोत्सव स्थगन गरिएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमणलाई हेरेर सरकारले भीडभाडजन्य गतिविधिमा रोक लगाएपछि महोत्सव स्थगन गरिएको आयोजक बिहुँकोट अन्तर्राष्ट्रिय समाजका अध्यक्ष देवीलाल सुवेदीले जानकारी दिए ।
“अहिलेलाई महोत्सव स्थगन गर्ने निर्णय ग¥यौँ, स्थिति सहज भएपछि नयाँ मितिमा आयोजना हुन्छ”,उनले भने । परमानन्द संस्कृत गुरुकुल पुनःसञ्चालनको उद्देश्य राखेर समाज र त्रिपुरेश्वर महादेव मन्दिर परमानन्द सन्यास आश्रमको संयुक्त आयोजनामा महोत्सव आयोजना गरिएको थियो ।
त्यहाँ रहेको गुरुकुल पाठशाला विगतको सशस्त्र द्वन्द्वका बेला बन्द हुन पुगेको थियो । रामकोटधामका संस्थापक दिवङ्गत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजका पालामा खुलेको संस्कृत गुरुकुल पुनःसञ्चालनका लागि आर्थिक जोहो गर्न महोत्सव हुन लागेको थियो ।-रासस