काठमाडौं, ३ माघ । धुर्मुश र सुन्तलीले क्रिकेट रंगशाला निर्माणमा कुनैपनि अनियमितता नभएको र दाताहरुको रकम दुरुपयोग नभएको स्पष्ट पारेका छन् । उक्त परियोजना निर्माणमा अनियमितता भएको भन्दै हिजोमात्रै अख्तियारमा उजुरी परेको छ । त्यसको भोलिपल्ट आज उनीहरुले धुर्मुश सुन्तली फाउण्डेशनको नाममा एक अपिल सार्वजनिक गर्दै यस्तो दाबी गरेका छन् ।
अपिलमा भनिएको छ,”सहयोगी मनहरुबाट प्राप्त रकमको दुरुपयोग हामी सोच्न पनि सक्दैनौं । परियोजनामा कुनै प्रकारको अनियमितता र गलत कार्यको गुञ्जायस नरहेकोमा सबैलाई आश्वस्त तुल्याउन चाहन्छौं ।”
हाम्रो अनुरोध
राष्ट्रिय गौरवको परियोजनाका रुपमा क्रिकेट र समग्र खेल क्षेत्रको विकासका लागि धुर्मुस–सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाको सहकार्यमा तीन वर्षअघि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण परियोजनाको थालनी भएको सर्वविदितै छ । २०७५ साल माघ १६ गते राष्ट्रिय सभा गृह काठमाडौंबाट तत्कालीन प्रधानमन्त्री एवं विभिन्न दलका शीर्ष नेताका साथै विभिन्न विधाका राष्ट्रिय व्यक्तित्वहरुको समुपस्थितिका बिच सम्झौतापत्रमा हस्ताक्षर भएर काम सुरु गरिएको थियो ।
कोरोना महामारी तथा अनेकौं आरोह–अवरोहका बाबजुद पनि रंगशाला निर्माणको काम निरन्तर अघि बढिरहँदा स्रोत व्यवस्थापनको पाटो भने चुनौतिपूर्ण बन्दै गयो । अपेक्षित जनसहयोग जुट्न सकेन । विगत ५ महिनादेखि निर्माण सामग्री उपलब्ध गराउन नसकेको अवस्था र विभिन्न कम्पनीहरुलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम बढ्दै गएपछि अन्ततः संरचना अन्तरगतको निर्माण कार्य स्थगित गर्न वाध्य हुनु पर्यो ।
यसको उचित निकासका लागि फाउन्डेसनले युवा तथा खेलकुद मन्त्रालय, अर्थ मन्त्रालय र भरतपुर महानगरपालिकासँग पटकपटक छलफल गरी भरतपुर महानगरपालिकामा गत पुस २ गते स्वामित्वग्रहणको लागि अनुरोधपत्र बुझाइएको हो । सोभन्दा पहिले २०७८ साल मङ्सिर २१ गते भरतपुर महानगरपालिकाले फाउन्डेसनलाई पत्राचार गरेअनुरुप फाउन्डेसनको तर्फबाट २०७८ साल मङ्सिर २३ गतेसम्मको अनुमानित आम्दानी–खर्चको विवरण, भुक्तानी दिनुपर्ने रकम र सोको विवरण तथा २०७८ साल असार मसान्तसम्मको लेखापरिक्षण प्रतिबेदन र भौतिक प्रगति प्रतिवेदन बुझाइएको थियो ।
गत पुस २ गतेको निर्णयपश्चात भरतपुर महानगरपालिकाको तर्फबाट दुवै प्रतिवेदनको मुल्यांकन शुरु गरी भौतिक प्रगतिको प्रारम्भिक प्रतिवेदन आएको छ भने त्यसलाई पुर्ण बनाउन थप मुल्यांकन भइरहेको छ । आर्थिक प्रगति सम्वन्धमा फाउन्डेसनको तर्फबाट शुरूवाति दिनदेखि ०७८ पुस मसान्तसम्मको सम्पूर्ण खर्चको लेखापरिक्षण धमाधम भइरहेको र सोको प्रतिवेदन आजभोलिमै फाउन्डेसनमा उपलब्ध हुने जानकारी गराउन चाहन्छौं । उक्त प्रतिवेदन सम्वन्धित पक्षलाई बुझाएर फाइनल भएपछि परियोजनाको वास्तविक आम्दानी–खर्च सार्वजनिक गरिनेछ ।
स्वदेश तथा विदेशमा रही परियोजनालाई सहयोग गर्नुहुने सहयोगी मनहरुका कारणले नै रङ्गशाला निर्माण यो अवस्थासम्म आइपुगेको छ । सहयोगी मनहरुबाट प्राप्त रकमको दुरुपयोग हामी सोच्न पनि सक्दैनौं । परियोजनामा कुनै प्रकारको अनियमितता र गलत कार्यको गुञ्जायस नरहेकोमा सबैलाई आश्वस्त तुल्याउन चाहन्छौं ।
हाल सरकारी मूल्यांकनको कार्य चलिरहेको र परियोजना विधिवतरुपमा हस्तान्तरण भइनसकेको हुनाले उक्त हस्तान्तरण प्रक्रिया सम्पन्न भएपश्चात हामी सबै विवरण सार्वजनिक गर्ने नै छौं । अहिलेलाई हामी मूल्यांकनको सहयोगी बनेर अघि बढेका छौं ।
पछिल्लो समय परियोजनासम्बन्धी वास्तविकता नबुझी भ्रमपूर्ण रुपमा प्रकाशन÷प्रशारण गरिएका समाचार, टिकाटिप्पणी तथा अन्य गतिविधिलाई लिएर हामी अत्यन्त चिन्तित र दुखी छौं । हाम्रोतर्फबाट आर्थिक लगायतका सबै विवरण सार्वजनिक नहुञ्जेलसम्म कपोलकल्पित आरोपहरु बन्द गरी परियोजनालाई माया गरिदिनुहुन हार्दिक अपिल र अनुरोध गर्दछौं ।