Logo

हाकिमलाई ‘स्वविवेक’को अधिकार



काठमाडौं, माघ ४ । भिजिट भिसामा खाडी मुलुक दुबई जाने र जागिर खाने नेपाली अध्यागमन विभागमा ‘स्वविवेक’को अधिकार लिएर बसेका हाकिमको पक्षपातपूर्ण व्यवहारको शिकार भएका छन् । ‘सेटिङ’ मा प्रवेश गर्नेलाई मात्र प्रस्थान अनुमतिको छाप लगाउने काम भएको पीडितहरुको गुनासो छ ।

‘मैले सबै कागजात पूरा गरेको थिएँ तर मलाई प्रस्थान अनुमति दिइएन, उस्तै कागजात बोक्ने साथीले अनुमति पायो, उसले भन्दै थियो– २०–२५ हजारको मुख नहेर, तर मैले पहिला पत्याएको थिइनँ’, पर्वतका कृपलाल जैसीले भने– फ्लाई दुबई जहाजमार्फत ३ बजे दुबई उड्न विमानस्थल पुगेको थिएँ, टीकाटालो गरेर निस्केको लाजैमर्नु भयो ।
‘पछि फेरि ऋणपान गरेर २५ हजार रुपियाँ सेटिङवालालाई बुझाएँ, सजिलै छाप लाग्यो ।’ –उनको भनाइ छ । उनी अहिले दुबईमै छन् ।

त्यस्तै, मोरङकी तिलरूपा थापा पनि केही दिनअघि भिजिट भिसामा दुबई जान चाहिन, तर अनुमति पाईनन्। भिजिटका लागि दुबई सरकारले योग्य ठहर गरे पनि आफ्नै अध्यागमन कार्यालयको नजरमा योग्य बनिनन् उनी । तर, थापाले दोहोर्याएर प्रयास गरिनन्, यद्यपि एकपटक अध्यागमन विभागका प्रमुख नारायणप्रसाद भट्टराईलाई भेटेर सबै कागजपत्र देखाउँदै ‘किन अनुमति दिइएन’ भनेर प्रश्न भने गरिन । भट्टराईले अनुमति नदिनुपर्ने कुनै कारण देख्नु भएन । हाकिमले पर्याप्त ठानेको कागजपत्र तल्लो तहका कर्मचारीका लागि अपर्याप्त हुने हदसम्मको ‘स्वविवेक’ को अधिकार सेवाग्राहीका लागि पीडाको विषय बनेको छ ।

अध्यागमनले तोकेको कागजातमा सम्बन्धित देशको भिसा, दुईतर्र्फी हवाई टिकट, होटल बुकिङ, गल्फको हकमा २ सय ५० डलर र अहिलेको स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेको डकुमेन्ट हुन् । अध्यागमन विभागका प्रमुख भट्टराईले घुमाउरो पारामा अध्यागमनमा सेटिङ मौलाएको स्वीकार गदै भने ‘विमानस्थलका कर्मचारीलाई स्वविवेक प्रयोग गर्न दिँदा कहिलेकाहीं नसोचेका घटनाहरु पनि हुने गरेका छन् । हामीले यो पठाउने त्यो नपठाउने भन्न मिल्दैन एयरपोर्टमा छाप हान्ने कर्मचारीलाई मन लाग्यो भने पठाउनुहुन्छ, शंका लाग्यो भने पठाउनुहुन्न ।’ नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot