Logo

आइसोलेसन र क्वारेन्टिन सेन्टर पुनः सञ्चालन गर्ने काठमाडौं महानगरको तयारी



काठमाडौं, ४ माघ । काठमाडौं महानगरपालिकाले पछिल्लो समय कोभिड–१९ संक्रमितको संख्या बढिरहेको भन्दै त्यसका लागि तयारी अवस्थामा रहेको जनाएको छ।

कोरोना महामारीको पहिलो र दोस्रो चरणमा प्रयोग भएका निःशुल्क सञ्चालन गरिएका आइसोलेसन र क्वारेन्टिन स्थलहरू यस पटक पनि आवश्यक परेको खण्डमा तयारी अवस्थामा रहेको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताए।

प्रमुख शाक्यले भने, ‘हामीले त्यसका लागि गृह मन्त्री, विभिन्न अस्पताल र नेपाली सेनासँग छलफल गरेका छौं’, हामीले नेपाली सेना र अस्पतालहरूलाई तयारी अवस्थामा रहन भनेका छौं। हामी पनि तयारी अवस्थामा छौं। आवश्यक प¥यो भने तुरून्तै निःशुल्क आइसोलेसन र क्वारेन्टिनहरू सञ्चालन गर्न सक्छौं।’

प्रमुख शाक्यले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी अघि बढ्न आग्रह पनि आग्रह गरे। पहिलो र दोस्रो चरणको कोरोना संक्रमणका बेला सिसिएमसीले स्थानीय सरकारसँग सल्लाह र समन्वय गरे पनि अहिले नभएको उनको आरोप छ।

महानगरबासीलाई थप केही जटिल भयो भने कामपाको ३२ वटै वडामा सञ्चालित स्वास्थ्य क्लिनिक र स्वास्थ्य विभागमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ।

संघीय सरकारको निर्देशन र मापदण्डअनुसार महानगरपालिका क्षेत्रभित्रका अग्रपंक्तिमा खटिएका, ज्येष्ठ नागरिक लगायतका लागि खोपको तेस्रो मात्रा पनि कामपाले व्यवस्थापन गरेकाले खोप लगाउन योग्य सबैलाई अपिल गरिएको छ। रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot