काठमाडौं, ४ माघ । गुण एयरलाइन्सको जहाज आकाशमै खुल्ला भएको सम्बन्धमा छानबिन गर्न समिति गठन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जहाज आकाशमै खुल्ला भएको सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको हो ।
२ माघमा काठमाडौंबाट पोखरा उडेको गुण एयरलाइन्सको जहाजमा प्राविधिक गडबडी भई आकाशमै ढोका खुलेको घटनाको छानबिन गरी सत्यतथ्य पेश गर्न मन्त्रालयले मंगलवार चार सदस्यीय छानबिन समिति गठन गरेको हो । जहाज उडेको पाँच मिनेटमै पुनः त्रिभुवन विमानस्थलमै अवतरण गराइएको थियो ।
समितिलाई मन्त्रालयले उक्त घटनाको विषयमा सत्यतथ्य पत्ता लगाई भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहित ३ दिनभित्र प्रतिवेदन पेश गर्न पनि निर्देशन दिएको छ ।