काठमाडौं, ४ माघ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसभित्र आन्तरिक कलह फेरि बल्झिएको छ । १४औं महाधिवेशन सम्पन्न भएको दुई महिना पुग्न नपाउँदै आन्तरिक कलह बल्झिनु दुःखद् भएको नेताहरु बताउँछन् । अहिले सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका नेता शेखर कोइरालाले अब चुप लागेर नबस्ने चेतावनी दिईसकेका छन् ।
यसअघि सभापतिमा पराजित भएपछि गरिएको पत्रकार सम्मेलनमा उनले आफ्नो समूहले पार्टीमा भागबण्डाको राजनीति नगर्ने सार्वजनिक रुपमै बताएका थिए । तर, सभापति देउवाले केन्द्रीय सदस्यहरु मनोनितसम्म आईपुग्दा एकलौटी गरेको र वरियताक्रम तोक्दासमेत पूर्वाग्रह पालेको शेखर समूहको निश्कर्ष छ ।
पछिल्लो समय शेखर समूहले काठमाडौंका सिंहदरबार छेउमै रहेको बसेरा बुटिक होटलमा छुट्टै भेला राखेको थियो । त्यसमा सभापति देउवाले यसैगरि पेलेर गए अब सहेर नबस्ने नेताहरुले निश्कर्ष निकालेका थिए । यसअघि सभापतिमा देउवासँग १३औं महाधिवेशनमा पराजित भएका वरिष्ठ नेता रामचन्द्र पौडेलले ४० प्रतिशतको भागबण्डा लिएर राजनीति गरेको आरोप छ ।
तर, यसपटक शेखर समूहले आफूहरुले कुनै भागबण्डा नखोज्ने बताईसकेको छ । पार्टीलाई विधिसम्मत् चलाउनुपर्ने र गुटको राजनीति गर्न नहुने उनीहरुको जोड छ । सभापति देउवाले एकपछि अर्को गरेर एकलौटी निर्णय गर्दै गए अब नसहने बरु भागबण्डा खोजेर भएपनि अघि बढ्नुपर्नेमा आफ्नो समूहका नेताहरुले शेखरलाई दबाब दिईरहेका छन् ।
आगमी बैशाखमा हुने स्थानीय तहको निर्वाचनको मुखसम्म कांग्रेसभित्रको आन्तरिक विवाद सतहमा आईसक्ने कांग्रेस नेताहरुको नै टिप्पणी छ । file photo