Logo

हवाई टिकट काट्न र सार्वजनिक स्थानमा हिँडडुल गर्न खोप कार्ड अनिवार्य



काठमाडौं, माघ ५ । तपाईंसँग कोरोनाविरुद्ध खोप लगाएको खोप कार्ड छ? कार्ड छ भने तपाईं सार्वजनिक स्थानमा हिँडडुल गर्न पाउनुहुन्छ । छैन भने अब कार्ड नभई सार्वजनिक स्थानमा हिँडडुल गर्न पाइनेछैन ।

कोरोना संक्रमणको गति फेरि बढ्दै गएपछि सरकारले कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी)ले गरेको सिफारिसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्र्न भन्दै सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य गरेको हो । यो नियम ७ माघबाट लागू हुँदै छ ।

गृह मन्त्रालयमा मंगलबार गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको बैठकमार्फत सरकारले ७ माघबाट खोप कार्डबिना हिँडडुल गर्न नपाइने निर्णय गरेको गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले जानकारी दिए ।

बैठकले कोभिड–१९ को फैलावटलाई रोक्न र कोभिडविरुद्धको खोप लगाउने कार्यलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । मोबाइलमा भए पनि कार्डको फोटो खिचेर राख्दा हिँडडुल गर्न सहज हुनेछ ।

यसैगरी, विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोप लगाउन सरकारले बन्द गरिएका विद्यालय १६ माघदेखि २० गतेसम्म खोल्ने निर्णयसमेत गरेको छ ।

विद्यार्थीहरूलाई कोभिडविरुद्धको खोप लगाउने प्रयोजनका लागि चार दिन विद्यालय खोल्ने निर्णय गरेको कोइरालाले जानकारी दिए । उनका अनुसार विद्यार्थीलाई खोप लगाउन सो अवधिमा विद्यालयमा खोप अभियान नै चलाइनेछ ।

यसैगरी, विश्वविद्यालयस्तरमा चलिरहेका र मिति निश्चित भएका परीक्षा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको गृह मन्त्रालयले जनाएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot