काठमाडौं, माघ ५ । कोरोना संक्रमणको जोखिमले मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदबारसँगै अन्य सार्वजनिक निकायको सेवा प्रवाह पनि प्रभावित बन्दै गएको छ । मंगलबार नेपालमा सबैभन्दा धेरै संक्रमितको संख्या देखिएको छ । पछिल्लो २४ घण्टामा १० हजार २ सय ५८ जनामा कारोना संक्रमण पुष्टि भएको पाइएको छ ।
कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि देशको मुख्य प्रशासनिक केन्द्रभित्रको प्रवेशमा गृह मन्त्रालयले कडाइ गरेको छ । सिंहदबार प्रवेश गर्न सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग र कार्यालयबाट जारी अस्थायी परिचयपत्र खारेज गरिसकेको छ । यसले गर्दा सिंहदबार सुनसान देखिएको छ । कर्मचारी पनि कोरोना संक्रमित हुन थालेपछि त्यहाँबाट दिँदै आएको सेवा पनि प्रभावित बनेको छ ।
सर्वोच्च अदालतले पनि बुधबारदेखि लागू हुने गरी सेवा कटौती गर्ने निर्णय गरिसकेको छ । कार्यालयमा कोरोना संक्रमितको सख्ंया बढ्दै गएपछि उपत्यकाका स्थानीय तह र त्यसअन्तर्गतका वडा कार्यालयको सेवा प्रवाह पनि प्रभावित बनेको छ ।बढी मानिस भीडभाड हुने मालपोत कार्यालय, नापी कार्यालय, कर कार्यालयमा सेवा प्रवाह व्यवस्थित गर्ने वा अत्यावश्यक सेवामात्र प्रवाह हुने गरी व्यवस्थित गर्नुपर्ने विषयमा छलफल शुरु भएको छ ।
सेवा प्रवाहका विषय छलफलकै क्रममा रहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । ‘संक्रमणको संख्या बढ्दै गएको छ । सेवा प्रवाहको विषयमा पनि हामी छलफलकै क्रममा छौं’, उनले भने– ‘संक्रमण यसरी नै बढ्ने हो भने थप केही निर्णय लिनुपर्ने हुन्छ ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ दोस्रो साता कोरोना संक्रमणको तेस्रो लहर उत्कर्षमा पुग्ने भन्दै दैनिक संक्रमण झन्डै २० हजार पुग्ने प्रक्षेपण गरेको छ । नेपाल समाचारपत्र दैनिकबाट