Logo

गायब भएको २५ लाख खोप कहाँ पुग्यो ?



काठमाडौं, ५ माघ । सरकारले माघ ७ गतेदेखि सार्वजनिकस्थलमा प्रवेश गर्न खोप कार्ड अनिवार्य गरेपछि खोप लगाएकाले कार्ड खोज्न थालेका छन् । खोप लगाएर पनि कार्ड नबनाएकाहरु बनाउन दौडिएका छन् । कतिपयले शक्तिको आँडमा खोप लगाएकाले कार्ड बनाएका छैनन् । तर, प्रमाणित अभिलेख आवश्यक भएपछि विगतमा शक्तिको आँडमा खोप लगाउनेहरुलाई चुनौती बढेको छ ।

खोप शक्तिको आँडमा दुरुपयोग भएको समेत बुझिएको छ । खोज्दै जाँदा कतिपय खोप अवैध विक्रीवितरण भएको चर्चा पनि छ । कर्पोरेट हाउसहरुले त्यस्ता खोप तान्न सकेका थिए । तर, त्यसको रेकर्ड देखिएको छैन ।

खोप लगाएको कार्ड हराएको भन्दै नयाँ प्रतिलिपि बनाउन मानिसहरु दौडिएका छन्। पहिला लगाएको कार्ड र खोपको आधारमा थप खोप बुस्टर डोज दिइने भएकोले खोप कार्ड र खोपको खोजी भएको हो ।

हालसम्म नेपालमा २५ लाख बढी कोरोना भाइरसविरुद्धको खोपको अभिलेख नभएको पाइएको छ । स्वास्थ्य मन्त्रालयका सचिवले २५ लाख खोपको अभिलेख नभएको जानकारी दिएपछि खोपको खोजी सुरु भएको हो । खोप पावर र शक्ति भएकाहरुको घर–घरमा पुगेको र दुरुपयोग भएको हुनसक्ने बताइएको छ ।

खोप कार्ड हराएकाहरुको अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिलिपि उपलब्ध गराउने भएको छ ।

मन्त्रालयले एक सुचना जारी गर्दै ३ तरिकाबाट हराएको खोपकार्ड लिन अनुरोध गरको छ । पहिलो दुवैमात्रा लगाएको खोप केन्द्र वा लगाएको संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्ड लिन सकिनेछ ।

दोस्रो जोन्सन एण्ड जोन्सन खोप लगाएको भए सोही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट हराएको खोप कार्डको प्रतिलिपि लिन आग्रह गरेको छ ।

तेस्रोमा पहिलो पटक लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्