काठमाडौं, ५ माघ । आफ्नो क्षेत्रका लागि मरिमेट्ने नेताका रुपमा अर्थमन्त्री जर्नादन शर्माको परिचय बनेको छ । तीनवटा चुनाव जितिसकेका शर्माले आफ्नो क्षेत्रका लागि जस्तोसुकै चुनौतीको सामना गर्न पछि नपर्ने परिचय बनाएका छन् ।
शर्माको अर्को परिचय बनेको छ परिवार र आफन्तलाई पार्टीभित्र र बाहिर सेट गर्ने । उनले यसकारण पनि माओवादीभित्र बलियो पकड बनाएका छन् ।
पछिल्लो समय जर्नादन शर्माले एकजना डिआइजीलाई कुनै हालतमा एआइजी बनाइछाड्न शक्ति लगाएका छन् । ती डिआइजी हुन् रवीन्द्र धानु्क ।
धानुकलाई विगतमा शर्माले गृहमन्त्री हुँदा भनेको ठाउँमा सरुवा गरेर लानेगरेका थिए । धानुक शर्माकै कारण प्रचण्डको पनि प्रीय भए ।
नेपाल प्रहरीमा तीनजना एआइजीको दरबन्दी सृजना गर्ने फाइल सिधा मन्त्रिपरिषदमा गएर अड्किएको छ । यसको कारण हो अर्थ मन्त्रालय । अर्थमन्त्री जर्नादन शर्माले अर्थको स्वीकृती नदिंदा दरबन्दी बढाउने निर्णय रोकिएको छ । यसको कारण हो शर्माको धानुकलाई एआइजीमा सुनिश्चित गर्नु ।
धानुक एआइजीमा बढुवा हुने सुनिश्चित भएमा मात्र शर्माले अर्थबाट स्वीकृती दिलाउने गरी अडान कसेका छन् । तीन एआइजीमा माओवादीले एउटा कोटा मागेको बुझिएको छ ।
एआइजी बढुवामा धीरज सिंहको नाम पक्का हुने भइसकेको छ । सीआइबीका डिआइजी सिंहलाई प्रधानमन्त्री शेरबहादुर देउवाकै साथ छ । सिंह पनि पश्चिम क्षेत्रकै हुन् ।
एआइजी बढुवाको दौडमा धीरज सिंह, उत्तमराज सुवेदी, वसन्त लामा, दिवेश लोहनी र रवीन्द्र धानुक दौडमा अगाडि छन् । लोहनी अहिलेका आइजीपी शैलेश थापा क्षेत्रीका ब्याची हुन् । उनी ३३ कीलो सुनकाण्डमा परेर पछि परे ।-File Photo