Logo

नेकपा (माओवादी केन्द्र समाजवादी) द्धारा आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने घोषणा, यस्तो छ उद्देश्य



काठमाडौं, ५ माघ । कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र समाजवादी) ले जनतासँग कम्युनिष्ट कार्यक्रम अन्तर्गत ‘कम्युनिष्ट सम्मेलन’को आयोजना गर्ने भएको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उक्त पार्टीले आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने जानकारी दिएको हो ।

वैज्ञानिक समाजवाद स्थापनाको लागि ऐतिहासिक कम्युनिस्ट सम्मेलनको आवश्यकता’ ‘क्रान्तिकारी कार्यदिशा, पार्टी, सत्ता र नेतृत्व निर्माणको लागि व्यापक जनसहभागिता’ भन्ने नारासहित समाजवादी कम्युनिष्ट सम्मेलनको आयोजना गर्न लागेको उक्त पार्टीले जनाएको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष कर्णजित बुढाथोकीले कम्युनिष्टहरुको पहिलोपटक सम्मेलनको आयोजना गर्न लागेको बताए । उनले कम्युनिष्ट सम्मेलन आयोजनाको लागि आयोजक समिति गठन गरिने जनाए । उक्त आयोजक समितिको संयोजक र संख्या निकट भविष्यमै सम्पुर्ण कम्युनिष्ट पार्टीहरुको बीचमा आपसी समझदारी कायम गरेर घोषणा गरिने उनको भनाई थियो ।

यसका साथै, उनले सम्मेलन सम्पन्न गर्न विभिन्न विभागहरु गठन गरिने पनि बताए । सम्मेलन आगामी २ वर्षभित्र गर्ने पनि उनले स्पष्ट पारे । नेकपा (एमाले) र नेपाली कांग्रेस, राप्रपालगायतको महाधिवेशन भर्खरै सकिएको भन्दै आफुहरुले नयाँ ढंगले कम्युनिष्टहरुको सम्मेलन गर्ने उनको भनाई थियो ।

बुढाथोकीले आफ्नो पार्टीको सम्मेलनको उद्देश्य सबै कम्युनिष्टहरुलाई एकै स्थानमा उपस्थित् गराउने भएको पनि जिकिर गरे । नेकपा माओवादी र क्रान्तिकारी पार्टीहरुको शक्तिको भरमा आज देश अगाडि बढेको उनको भनाई थियो ।

अहिले समय परिवर्तन भएको भन्दै अध्यक्ष बुढाथोकीले पहिला नेताले भनेको सबै कुरा जनताले विश्वास गर्ने तर अहिले प्रत्येक जनताले आफ्नो पार्टीमा भुमिका खोज्न थालेको उनले सुनाए । नेकपा (माओवादी केन्द्र) र एमाले एकता गरेर असफल भएर विभाजन भएको उनको टिप्पणी छ ।

समाजवाद आफ्नो पार्टीको लक्ष्य हो भन्दै उनले समाजवादलाई तीन चरणमा विभाजन गरेर आफ्नो पार्टीले लैजान खोजेको सुनाए । जनविद्रोहको उल्टो अवस्था अहिले रहेको उनको भनाई थियो । नेपालको राजनीति अत्यन्तै जटिल अवस्थामा पुगेको भन्दै बुढाथोकीले आज प्रधानमन्त्री शेरबहादुर देउवाको कारण लिपुलेक, लिपियाधुरालाई भारतले आफ्नो भनेर दाबी गर्ने हिम्मत गरेको आरोप लगाए ।

सबै नेपाली जनताको अभिभावक हुनको लागि आफु र आफ्नो पार्टी अगाडी बढेको उनले जिकिर गरे । आफ्नो पार्टी सिंगो कम्युनिष्टलाई एकिकृत बनाएर देशकै ठुलो शक्ति र ताकत हुने समेत उनले जिकिर गरे ।

कार्यक्रममा बोल्दै पार्टीका सचिव अरुण घिसिङले नेपालमा क्रान्तिकारी पार्टीहरुलाई पहिलोपटक एकजुट गर्न कम्युनिष्ट सम्मेलन गर्न लागिएको बताए ।

सबै क्रान्तिकारीहरुलाई एक ठाउँमा थुपारेर वैज्ञानिक कम्युनिष्ट सम्मेलन गर्ने उनको भनाई थियो । कम्युनिष्ट सम्मेलनमा कम्युनिष्टहरुको अवधारणा प्रस्तुत गरिने उनले जानकारी दिए ।

धेरै मानिसहरुले नेपालमा कम्युनिष्ट शासन व्यवस्था अपरिहार्य रहेको भन्दै आएको पनि उनले उल्लेख गरे । उनले कम्युनिष्ट सम्मलेनको अवधारणा आम मानिसहरुको मन–मनमा बस्ने र पुग्नेमा आफु आशावादी रहेको बताए ।

कम्युनिस्ट सम्मेलन
‘जनतासँग कम्युनिस्ट कार्यक्रम’

विश्व सर्वहारावर्गको मुक्तिको लागि कम्युनिस्ट घोषणापत्र जारी भएको १७२ वर्ष भइसकेको छ । आजसम्मको मानव समाज साम्राज्यवाद र सर्वहारा क्रान्तिकै युगमा भए तापनि पुँजीवाद पछिल्लो चरणमा आइपुग्दा वित्तीय एकाधिकार चरित्र गहण गर्दै अनियन्त्रित महाविष्फोटको चरणमा प्रवेश गरेको छ । साम्राज्यवाद र उत्पीडित राष्ट्रहरूबिचका अन्तविरोध नै प्रमुख अन्तविरोध रहेकै कारण समाजवादी क्रान्तिलाई नयाँ ढङ्गले सुदृढ गर्नुपर्ने आवश्यकता टड्कारो देखिन्छ । सर्वहारा अधिनायकत्व, बल प्रयोगको सिद्दान्त र वर्गसंघर्षको आधारभूत सिद्दान्तप्रति प्रतिवद्ध हुनै पर्दछ ।

द्वितीय अन्तर्राष्ट्रियको मान्यताविपरीत कमरेड लेनिनले एउटै देशमा पनि समाजवादी क्रान्ति हुन सक्ने भन्दै रुसी क्रान्ति सम्पन्न गर्नुभयो । त्यसैगरी, कमरेड माओले पनि तेस्रो अन्तर्राष्ट्रियको निर्देशन ‘कोमिन्ताङको मातहातमा रहेर अगाडि बढ्ने’ कुरा मान्नुभएन । माओको भनाइ थियो, “हामी जुत्ताको नापअनुसार खुट्टा काट्दैनौँ, खुट्टाको नापअनुसार जुत्ता काट्छौँ । चीनको विशेषतामा मेल नखाने विषय चीनको क्रान्तिलाई फाइदा हुँदैन ।” उहाँले चीनजस्तो अर्धऔपनिवेशिक तथा अर्धसामन्ती देशमा नयाँ जनवादी क्रान्ति हुँदै समाजवादमा जाने कार्यदिशाद्वारा दीर्घकालीन जनयुद्ध र संयुक्त मोर्चामार्फत जनवादी क्रान्ति सम्पन्न गर्नुभयो । लेनिन र माओले पुँजीवादको नयाँ स्वरूपको विश्लेषण गरेर जसरी क्रान्तिको अवधारणा दिनुभयो, आज उक्त मान्यता विज्ञानसम्मत् बन्न गएको छ । वर्तमान चरण रणनीतिक हिसाबले पुँजीवाद चरम अस्तव्यस्त र कोमामा पुगेको छ तर कार्यनीतिक रूपमा उत्पादन र बजारमा अन्तर्निर्भरताकै कारण तत्काल विश्वयुद्ध टरेको छ ।

समाजवादको मूल्याङ्कन समाजवाद प्राप्त भएका र नभएका देशको हकमा प्रयोग गरिनुपर्छ । समाजवादलाई अमूर्त असफल या सफल भन्नु भन्दा समाजवादलाई विऊ, विरुवा र फलको रुपमा वर्गीकरण गर्दै सोही अनुसार कार्यदिशा र कार्यक्रम निर्धारण गरिनुपर्छ । समाजवादको समय लामो हुने भएकोले यसलाई प्रारम्भिक चरण, मध्यमचरण र विकसित चरणमा विभक्त गर्न उपयुक्त हुन सक्छ । विभिन्न चरणका नेतृत्व र अधिनायकत्व, शासकीय स्वरुप, निर्वाचन प्रणाली, अर्थतन्त्र, सामाजिक, साँस्कृतिक रुपान्तरण, जनसार्वभौमसत्ता, अन्तराष्ट्रिय सम्बन्धलाई सापेक्षिक रुपमा फरक तर स्पष्ठ रेखाङ्कन गरिनुपर्छ ।

नेपाली सन्दर्भमा मालेमालाई नेपाली विशेषता लागु गर्दै समाजवादी क्रान्ति सम्पन्न गर्नको लागि जनविद्रोहको कार्यदिशा वैज्ञानिक बन्न गएको छ । जनविद्रोहको कार्यदिशा बलप्रयोगको सिद्दान्तमा आधारित हुने तर रुसी क्रान्तिको जस्तो नभई नेपाली विशेषतामा बल प्रयोग र वैधानिक जनसंघर्षको उचित संयोजन गर्न जरुरी हुन्छ । नेपालको जनविद्रोह दीर्घकालीन प्रकृतिको हुन सक्छ यसलाई तीन चरण रक्षा, सन्तुलन र प्रत्याक्रमणको रुपमा अगाडी बढाउनु पर्नेछ । यो कार्यदिशा र चरण २१ औं शताब्दीको साम्राज्यवादको हस्तक्षेपको नयाँ अध्ययन र विश्लेषण गर्दै समाजवादी क्रान्तिका आधार तयार गर्न योजनावद्ध र सचेत पहल कदमी लिन आवश्यक हुन्छ । रुसको जस्तो मजदुर–किसानवर्गद्वारा मात्र क्रान्ति हुने नभई समकालीन नेपाली सन्दर्भलाई हेर्दा मजदुर–किसान एवम् श्रमिकवर्गको नेतृत्वमा उत्पीडित वर्ग, क्षेत्र, जाति, लिङ्ग, समुदाय, मध्यमवर्ग र राष्ट्रिय पुँजीपतिहरूको अनिवार्य सहभागितामा क्रान्तिको मार्ग निर्माण गरिनुपर्दछ ।

वैज्ञानिक समाजवादको उत्पादक शक्ति विज्ञान–प्रविधियुक्त श्रम
सामन्तवादी व्यवस्थामा उत्पादक शक्ति श्रम, पुँजीवादमा उत्पादक शक्ति मेसिन पुँजी, वैज्ञानिक समाजवादी व्यवस्थामा उत्पादक शक्ति विज्ञान–प्रविधियुक्त श्रम बन्न गएको छ । श्रमको परिभाषा मूलतः शारीरिक र मानसिक श्रम नै हो तर सामन्तवादी चरणमा गरिएको श्रम र अहिले गरिने श्रमबिच निकै भिन्नता छ । १९ औँ शताब्दीमा समाजवाद प्रविधिसँग जोडिएको थिएन । त्यतिबेलाको व्यक्तिगत र सामाजिक जीवनमा प्रविधि जोडिएको थिएन । पुँजीवादले पनि शोषण गर्ने तरिका परम्परागत नै थियो ।

पुँजीवादको विकासक्रमलाई हेर्दा व्यापारी पुँजीवाद, प्रतिस्पर्धी पुँजीवाद हुँदै एकाधिकार पुँजीवादमा पुगेको छ । १४ औँ शताब्दीबाट सुरु भएको यो पुँजीवादको आधार व्यापार थियो, २० औँ शताब्दीमा सुरु भएको प्रतिस्पर्धी पुँजीवादको आधार उद्योग बनेको थियो । आजसम्मको एकाधिकार पुँजीवादको आधार वित्तीय संस्था बन्न गएको छ । माक्र्सको विश्लेषणअनुसारको पुँजीवाद अहिले छैन । त्यतिबेला पुँजीवाद चरम प्रतिस्पर्धामा थियो तर अहिले उत्पादनलाई विशिष्टीकरण गर्दै प्रतिस्पर्धी र एकीकृत हुन पुगेको छ । उत्पादनको विशिष्टीकरणको उदाहरणलाई हेर्दा विमानको इन्जिन अमेरिकामा, पखेटा चीनमा बन्ने गरेको देखिन्छ । त्यसैगरी टिन र जस्तापाताका कच्चा पदार्थ दक्षिण अफ्रिकामा, उक्त कच्चा पदार्थलाई प्रशोधन गरी कोरियाले स्टिल र फलाम उत्पादन गर्छ । यसरी हेर्दा साम्राज्यवादी शक्तिहरूबिच तीव्र प्रतिस्पर्धा हुने तर एकले अर्कोप्रति अन्तरनिर्भर हुनुपर्ने बाध्यता बनेको छ ।

पुँजीवादको एकाधिकार अब विज्ञान–प्रविधिमा आधारित हुन पुगेको छ । जतिबेला विज्ञान–प्रविधि थिएन; त्यतिबेला विज्ञान–प्रविधिमा आधारित अन्तरविरोध पनि थिएन । हाल विगतमा देखिएका मूलभूत अन्तरविरोध उही भए पनि केही नयाँ जुन माक्र्स र लेनिनको पालामा प्रकट भएको थिएन; त्यसलाई राम्ररी बुझ्न जरुरी छ । विकसित केही अन्तरविरोधहरूमा प्रविधि हुने र नहुनेबिचको अन्तरविरोध, प्रविधि जान्ने र नजान्नेबिचको अन्तरविरोध, प्रविधि भए पनि विद्युत भएको स्थानका मानिस र नभएकाबिचको अन्तरविरोध सतहमा आएका छन् । आजको साम्राज्यवादले मान्छेको आवश्यकतालाई सयौँगुणा बढाउने र सीमित पूर्ति गर्ने नयाँ प्रकारका विज्ञान–प्रविधिसम्बन्धी शोषणको हतकण्डा अगाडि सारेको छ । असीमित आवश्यकता र सीमित पूर्तिबिचको अन्तरविरोधले मानव समाजमा नकारात्मक प्रभाव पर्दै गएको हुनाले वैज्ञानिक समाजवादी व्यवस्थाले आवश्यकताको विशिष्टीकरण र वैज्ञानिक व्यवस्थापनमा जोड दिनुपर्दछ । वस्तु र सेवाको प्रचुर उत्पादन हुने तर १ प्रतिशत धनीको हातमा ८२ प्रतिशत धन थुप्रिने गरेकोले आर्थिक वृद्धि जसरी भयो, समन्यायिक वितरण नहुँदा विश्वमा महासङ्कट चुलिँदो छ ।

बुर्जुवाहरूले भनेझैँ अब मानवश्रमलाई रोवर्ट–एआईले विस्थापित गरिसक्यो, अब मान्छेका कुनै काम छैन भन्दै भ्रम छर्दै आइरहेका छन् । आफू असली र विज्ञ कम्युनिस्ट भन्नेहरूले विज्ञान–प्रविधिलाई उत्पादन शक्तिको रूपमा उभ्याएका छन् । आजसम्मको मानव इतिहास वर्गसङ्घर्षको इतिहास हो र अहिलेसम्म विकास भएका सम्पूर्ण आविष्कार मानवश्रममा आधारित छ । साथै, आजसम्मको क्रान्ति मानवको उच्च बलिदानबाट सम्भव भएको हो । मानवलाई राजनीतिक स्वतन्त्रता चाहिन्छ तर प्रविधिलाई चाहिँदैन । उदाहरणार्थ, खाना, निंद्रा, आत्मसम्मान, संस्कृति मान्छेलाई चाहिन्छ तर प्रविधिलाई चाहिँदैन । रोग मान्छेलाई लाग्छ, प्रजनन मान्छेलाई चाहिन्छ र भविष्यको चिन्ता एवम् सन्ततिको आशा र माया मान्छेलाई हुन्छ तर प्रविधिलाई हुँदैन । प्रविधि केवल साधन हो, भोलि के आवश्यकता आइपर्छ, त्यही प्रकारको प्रविधिको विकास हुन्छ । हिजो मोबाइल थिएन, मोबाइल नहुँदा रिचार्ज र चार्जरको आवश्यकता हुने कुरै भएन । अब मानवीय आवश्यकतालाई सरल र सहज ढङ्गको व्यवस्थापन गर्न मानवका हरेक जीवनशैली, कार्यशैली चाहे राजनीति, चाहे प्रशासन, व्यापार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा प्रविधिको प्रयोग अपरिहार्य बनेको छ । अबको पुँजीवाद र समाजवादबिचको अन्तर्विरोध प्रविधि प्रयोगको प्रतिस्पर्धात्मक अंश पनि हुनेछ । वैज्ञानिक समाजवादमा हरेक मानिसले विज्ञान–प्रविधियुक्त श्रम गर्नुपर्नेछ । सचेत र योजनावद्ध मानव–समाजको विकास गर्नु वैज्ञानिक समाजवादको कर्तव्य हुन आउँछ । आज पुँजीवादले आवेग र अस्तव्यस्त, काल्पनिक एवम् यान्त्रिक समाजको विकास गरिरहेका छन्, जुन कार्यले मानव र प्रकृतिमा आइपर्ने अकल्पनीय विपत्तिको सामना गर्ने जनशक्ति र समाज तयार पार्न सक्दैन । यसलाई कोरोना सङ्कटमा पुँजीवादको असफलताले प्रमाणित गरेकै छ ।

अबको बहस समाजवाद केवल मानिसको लागि मात्र नभई सम्पूर्ण जीवजन्तुको सेवा गर्छ या गर्दैन भन्ने पनि हो । अब समाजवादले सजीववादबारे बहस–छलफल गर्न जरुरी छ । यहाँनेर सन्दर्भ जोड्न खोजेको प्रश्न मानवलाई जति पनि रोग लागेको छ, निश्चय पनि ती सबै प्रकृतिमा रहेका जीवजन्तुको उचित व्यवस्थापन गर्न नसकेर नै हो । अहिलेसम्मको इतिहासलाई हेर्दा सबै प्राणघातक रोग जनावरबाट नै सरेको देखिन्छ । पशुपन्छीको बासस्थान, वनफडानी, आगलागी र तस्करीकै कारण आज वन सखाफ भई जङ्गलमा बस्ने पशुपन्छी र जीवजन्तु उचित बासस्थानको खोजीमा गाउँबस्तीमा आउने र जङ्गली जनावरको रोग कमजोर इम्युनिटीका कारण घरेलु जनावरमा सर्न गई क्रमशः मानवमा सर्ने गरेको देखिन्छ । इबोला, एड्स, फ्लु, कोरोना सबै यसका जिवन्त उदाहरण हुन् । तसर्थ, यी सन्दर्भलाई गम्भीर रूपमा आत्मसात गर्दै मानव जीवनको रक्षा र त्यसलाई जिवन्त बनाइराख्न समाजवादीहरूको विशिष्ट भूमिका हुनैपर्दछ । पुँजीवादले निरन्तर रूपमा मानवीय सङ्कट सिर्जना गर्ने भएकोले वैज्ञानिक समाजवादीहरूले समयमै सचेत र योजनावद्ध पहलकदमी लिनुपर्दछ ।

समकालीन नेपालको व्यवस्था न त समाजवाद हो, न त पुँजीवाद नै । यो दलाल तथा नोकरशाही संसदीय व्यवस्था हो । यसले अग्रगामी र रूपान्तरणकारी मार्गतिर नभई प्रतिगमनको मार्गतिर नेपाललाई डोहो¥याउँदैछ । तर, समाज र बदलिँदो परिवेशको मागले समाजवादी क्रान्तिको माग गरिरहेको छ । नेपालको दलाल अर्थतन्त्र भएको कारण औद्योगिक उत्पादन र राष्ट्रिय पुँजीको विकास हुन सकिरहेको छैन । वित्तीय पुँजीवादले एकाध व्यक्तिलाई अत्यधिक धनी र बहुसङ्ख्यक जनतालाई चरम गरिबीमा फसाइरहेको छ । व्यापार घाटा चुलिँदो अवस्थामा छ । साथै, वस्तु र सेवाको उत्पादन घटिरहेकै कारण निर्यातभन्दा आयात व्यापक चुलिँदो छ । शिक्षा, स्वास्थ्य, रोजगारीको आधारभूत प्रश्न निकै सङ्कटग्रस्त बन्दैछ । महँगी, भ्रष्टाचार, कालाबजारीले देशलाई चुर्लुम्मै डुबाइसकेको छ । जातीय छुवाछूत, महिला हिंसा, मानवअधिकार हननका घटनामा व्यापक वृद्धि भएको छ । पटक–पटक संसद् विघटन र पुनस्र्थापनाले व्यक्तिगत स्वेच्छाचारिता बढ्दै सार्वभौम जनताको अधिकारलाई कुण्ठित गरेको छ । मौलिक हक र अधिकार कार्यान्वयन गर्ने कानुन बनेको छैन, बनेका कानुनहरू पनि अध्यादेशमार्फत निष्क्रिय बन्दैछ । अदालतद्वारा राजनीतिक दलहरूलाई विभाजित गरिएको छ । ९९ प्रतिशत जनता एमसीसीविरोधी हुँदाहुँदै पनि दलाल शासकवर्गहरूले सो एमसीसी पास गर्ने षड्यन्त्र गर्दैछन् । उपर्युक्त विषयलाई मध्यनजर गर्दा नेपालका यथाशीघ्र वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने ऐतिहासिक आवश्यकता बनेको छ ।

नेपालमा कम्युनिस्ट आन्दोलनले ऐतिहासिक र युगान्तकारी भूमिका खेलेकै कारण नेपाली समाजको विकासको प्रक्रिया यहाँसम्म पुगेकोमा कुनै शङ्का छैन । २००६ देखि हालसम्मको कम्युनिस्ट आन्दोलनभित्र क्रान्तिकारी कार्यदिशा, नेतृत्व, पार्टी र संशोधनवादी कार्यदिशा एवम् नेतृत्व र पार्टीबिचको द्वन्द्व हुँदै आएको छ, जसमा क्रान्तिकारीहरू नै विजय हुँदै आएका छन् । जनयुद्ध एक अन्तर्राष्ट्रिय महत्त्वको आन्दोलन थियो, जसका कारण नेपालमा राजतन्त्र समाप्त भई गणतन्त्र स्थापना हुन पुग्यो । महान् आन्दोलनबाट प्राप्त उपलब्धिहरू सङ्घीयता, गणतन्त्र, समानुपातिक, समावेशी, धर्मनिरपेक्षताले नेपालमा उत्पीडित वर्ग, क्षेत्र, जाति, लिङ्ग र समुदायको अधिकारको लागि एउटा कोशेढुङ्गा सावित बन्न गयो । विडम्बनाको रूपमा भन्नैपर्छ कि नेपालमा प्राप्त यी उपलब्धिहरू युरोपमा १८ औँ शताब्दीको मध्यतिर प्राप्त भइसकेको थियो । एसिया अझ दक्षिण एसियाको हकमा भने लामो समयदेखिको हिन्दुवादी–सामन्तवादी समाज अझ मनुस्मृतिमा आधारित वर्ण र जातव्यवस्थाकै कारण राजनीतिक आन्दोलन हुन पाएन । एकातिर नाटकीय रूपमा नेकपा माओवादी केन्द्र र एमालेबिच जुन एकता भई नेकपा बन्न पुग्यो, उक्त एकता छोटो समयमै तुहिएर अदालतले पुरानै पार्टीमा फकाईदियो । अर्कातिर क्रान्तिकारी कम्युनिस्ट पार्टीहरू पनि केन्द्रिकृत हुन सकिरहेका छैनन् । तसर्थ नेपालमा ६२ प्रतिशत जनमत कम्युनिस्टहरूको रहेको पृष्ठभूमिलाई मध्यनजर गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् उद्देश्यलाई केन्द्रविन्दु बनाई हाम्रो पार्टी नेकपा माओवादी केन्द्र समाजवादीको नेतृत्वमा सम्पुर्ण कम्युनिस्ट पार्टीहरु, शक्ति र व्यक्ति व्यक्तित्वहरुको संयुक्त आयोजनामा कम्युनिष्ट सम्मेलनको आयोजना हुनेछ ।

उद्देश्य

(१) वैज्ञानिक समाजवाद स्थापना गर्ने मुख्य उद्देश्यमा केन्द्रित रहनेछ ।
(२) नेपाली विशेषताको समाजवाद लागु गर्न नयाँ कार्यदिशामा बहस केन्द्रित गर्नेछ ।
(३) कम्युनिस्ट पार्टी सञ्चालनका नवीनतम् विधिको विकास गर्नेछ ।
(४) राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयलाई नयाँ राजनीतिक परिवेशमा कम्युनिस्ट आन्दोलनमा समाहित गर्नेछ ।
(५) नेतृत्व विकास, उत्तराधिकारीको विकास, सामूहिक नेतृत्व प्रणालीसम्बन्धी नवीनतम मान्यताबारे बहस गर्नेछ ।
(६) विज्ञान–प्रविधिले समाज–विकासमा पारेको प्रभावबारे समीक्षा गर्नेछ ।
(७) कम्युनिस्ट आन्दोलनमा सहभागी नेता–कार्यकर्ताहरूको अभिलेख राख्नेछ ।
(८) क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूका बिचमा कार्यगत एकता, संयुक्त मोर्चा हुँदै पार्टी एकताको आधार तयार गर्नेछ ।
(९) अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीहरूसँग सम्बन्ध विस्तार गर्ने आधार खडा गर्नेछ ।
(१०) दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिको आधार तयार गर्न राष्ट्रिय राजनीतिक जनपरामर्श सम्मेलनको आयोजना गर्नेेछ ।
(११) राष्ट्रघाती एमसीसी सम्झौता खारेजी र नेपाली भूमी लिपुलेक, कालापानी र लिम्पियाधुरा भूभाग फिर्ताको लागि सशक्त आन्दोलनको उठान गर्नेछ ।
(१२) मजदुर किसान श्रमिक वर्गको नेतृत्वमा उत्पीडित वर्ग, क्षेत्र, जाति, लिङ्ग, समुदाय, मध्यमवर्ग र राष्ट्रिय पूँजीपति वर्गको अनिवार्य सहभागितामा समाजवादको प्रारम्भिक चरणको आधार खडा गरिनेछ ।

सम्मेलन आयोजनाबारे
कम्युनिष्ट सम्मेलन आयोजनाको लागि आयोजक समिति गठन गरिनेछ उक्त आयोजक समितिको संयोजक र संख्या निकट भविष्य मै सम्पुर्ण कम्युनिष्ट पार्टीहरु विचमा आपसी समझदारी गरेर घोषणा गरिनेछ । यसका साथै सम्मेलन सफल्ताको लागि विभिन्न विभागहरु गठन गरिनेछ ।

चरणहरू
(१) प्रचारात्मक चरण
यस चरणमा मूलतः राजनीतिक पार्टी र विभिन्न व्यक्ति–व्यक्तित्वहरूलाई कम्युनिस्ट सम्मेलनबारे जानकारी, सूचना, पत्राचार र निमन्त्रणा गरिनेछ ।

(२) मस्यौदा निर्माणको चरण
यस चरणमा प्राप्त सुझाव, जिज्ञासा, बहसलाई लिखित, मौखिक र श्रव्यदृश्य माध्यमबाट मस्यौदा निर्माण, सुझाव सङ्कलन र तथ्याङ्क सङ्कलन गरिनेछ ।

(३) घोषणापत्र सार्वजनिक चरण
प्राप्त मस्यौदाहरूलाई संश्लेषित गर्दै नेपाल कम्युनिस्ट आन्दोलनको साझा घोषणापत्र विशाल आमसभाका साथ सार्वजनिक गरिनेछ, उक्त कार्यक्रममा नेपालका र विश्वका कम्युनिस्ट पार्टीहरूलाई पनि निमन्त्रणा गरिनेछ ।

छलफका विषयहरू
राजनीतिक कार्यदिशा, समाजवादको चरण, रणनीति र कार्यनीति, सङ्घर्षका स्वरूप, सङ्गठनात्मक सिद्धान्त, पार्टी र सरकारको सम्बन्ध, सहिद, घाइते, अपाङ्ग एवम् बेपत्ता योद्धा, पार्टी एकता धु्रवीकरण, विज्ञान प्रविधि, जनश्रम, शिक्षा स्वास्थ्य, रोजगार, पर्यावरण, नेतृत्व र उत्तराधिकारी विकास, नेता कार्यकर्ताको जीवनशैली, पार्टी र सरकारमा जनताको नियन्त्रण र निगरानी, इतिहास, जनदिशा, समाजवादी संबिधान, देशभक्त बामपन्थी, प्रगतिशील संयुक्त मोर्चा र सरकार, महिला अधिकार, सामुहिक कार्यपालिका, जातीय भेदभाव, छुवाछुत, जातिय स्वायत्वता र आत्मनिर्णय अधिकार, यूवाको भूमिका, प्रत्यावहन र अनुमोदन, निर्वाचन प्रणाली, अर्थतन्त्र, भ्रष्टाचार जनजिविका, जनसंस्कृति, राष्ट्रियता, सुरक्षा नीति, खेलकुद, नेता–कार्यकर्ता व्यवस्थापन, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन,सामुदायिक अधिकारबारे आदि ।

छलफलका विधिहरू
अन्तक्र्रिया, बैठक, प्रशिक्षण, भेला, गोष्ठी, राजनीतिक सम्मेलन, सुझाव सङ्कलन, डिजिटल सिग्नेचर क्याम्पियन, भ्रमण, भेटघाट कार्यक्रम, सांस्कृतिक कार्यक्रम, चियापन कार्यक्रम आदि ।

समयावधि
अधिकतम २ वर्ष ।

नाराहरू
ड्ड ‘वैज्ञानिक समाजवाद स्थापनाको लागि ऐतिहासिक कम्युनिस्ट सम्मेलनको आवश्यकता’
ड्ड ‘क्रान्तिकारी कार्यदिशा, पार्टी, सत्ता र नेतृत्व निर्माणको लागि व्यापक जनसहभागिता’

 

 

……………………………………….
कर्णजित बुढाथोकी ‘सुशील’
अध्यक्ष
नेकपा माओवादी केन्द्र समाजवादी
२०७८ माघ ५



प्रतिक्रिया दिनुहोस्