Logo

ओमिक्रोन प्रभावः होटलको बुकिङ रद्द हुन सुरु



काठमाडौं, माघ ६ । पछिल्लो समय बुकिङ समेत पाउन मुस्किल राजधानीका होटल, रेस्टुरेन्ट तथा पार्टी प्यालेसहरू बढ्दो कोरोना संक्रमणसँगै सुनसान हुन थालेका छन्। गत हप्तादेखि कोरोना संक्रमण दर बढेसँगै होटल तथा रेस्टुरेन्टको भिडभाड कम हुँदै गएको छ।

केही समय पहिले विभिन्न राजनीतिक दलका महाधिवेशनले भरिभराउ बनेका राजधानीसहित मोफसलका होटलहरूमा अहिले आएका बुकिङसमेत रद्द हुन थालेका छन्।

कोरोना संक्रमणको तेस्रो लहरको प्रभाव काठमाडौंका मझौला तथा तारे होटलसम्मै पुगेको छ। नेपालमा संक्रमण दर बढेसँगै बाह्य मुलुकबाट आउने पर्यटकले समेत होटल बुकिङ रद्द गर्न थालेका छन्। कोरोना महामारी नियन्त्रका लागि काठमाडौं जिल्ला प्रशासनले आदेश जारीगरेपछि गोष्ठी, सेमिनार, बैठक, साधारणसभा र पार्टीका लागि आएका बुकिङ समेत रद्द भएका छन्।

सबैभन्दा बढी कोभिडको प्रभाव खेपेको पर्यटन क्षेत्रमा पुनः प्रभाव देखिन सुरु भएपछि व्यवसायीहरू विकल्प सोच्न थालेका छन्। स्रोतका अनुसार पछिल्लो समय भुटान, ताइवान, भारत, कोरिया जर्मनी तथा युरोपियन मुलुकबाट आएका बुकिङ समेत रद्द हुन थालेका छन्।

एउटा विदेशीको समूह नेपाल आउँदा १० देखि १५ कोठा बुक हुने गरेकोमा पुनः बिजोग हुने भयो भन्दै व्यवसायी आत्तिएका छन्। देशभर झण्डै १२ लाख श्रमिक पर्यटन प्रतिष्ठानमा आश्रित रहँदै आए पनि होटलले मात्र २ लाखभन्दा बढीलाई रोजगारी दिएको सरकारी आँकडा छ। त्यसो त देशभित्र रोजगारी सिर्जना गर्न होटल क्षेत्रलाई प्रमुख रूपमा लिने गरिन्छ।

तारे होटल, रिसोर्ट, होमस्टे लगायत अन्य पर्यटकस्तरीय होटलहरू कोरोनाकै कारण बन्द हुँदा मजदुर मात्रै होइन व्यवसायीसमेत यसको मारमा पर्न थालेका छन्। पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन कर्मचारीलाई वार्षिक बिदादेखि आन्तरिक पर्यटन प्रवद्र्धन र सहुलियतका विषयमा सरकार गम्भीर नहुँदा थप मार पर्ने व्यवसायीको धारणा छ।

पर्यटनमा क्षेत्रमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटल क्षेत्र समूहमा आउने पर्यटक रोकिँदा जोखिमपूर्ण अवस्थामा छन्। वसन्त ऋतुको पर्खाइमा रहेका पर्यटन व्यवसायी समेत आगामी ट्रेकिङ सिजनको बारेमा चिन्तित हुन थालेका छन्।

विदेशी पाहुनामा निर्भर पर्यटन क्षेत्र कोरोनाको नयाँ भेरियन्ट भित्रिएसँगै प्रशासनले जारी गरेको प्रोटोकलका कारण व्यवसायी थप सशंकित छन्।

दसैंयता होटल क्षेत्र विस्तारै चलायमान हुन थालेपछि श्रमिकको समेत माग बढ्दै गएको थियो। होटल बुकिङको अनुपात हेर्दा यो क्षेत्र पुरानै अवस्थामा फर्केको हो कि भन्ने लाग्न थाल्दा सुरु भएको संक्रमणको तेस्रो लहरले पर्यटन बजार प्रभावित भएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot