Logo

कसरी बढ्यो तेलको मूल्य ?



काठमाडौं, ६ माघ । विश्व बजारमा इन्धनको मूल्य निरन्तर उकालो लागेपछि मध्यरातिबाट लागू हुनेगरी देशभित्र मूल्यवृद्धि गरेपनि घाटा नघट्ने अवस्था बनेको छ । तेलको मूल्य प्रति ब्यारल ८९ डलर कटेको छ । हिजोभन्दा आज डेढ डलरले मूल्यवृद्धि भएको छ ।

आज बोनी लाइटले प्रतिब्यारल ८९.७३ डलर पुगेको छ । हिजो ८८.२४ डलर मूल्य थियो । ओपेक बास्केटको प्रति ब्यारल ८८.०८ डलर पुगेको छ । हिजो ८६.५४ डलर थियो । ब्रेन्ट क्रुडको प्रति ब्यारल ८७.६९ डलर पुगेको छ । हिजो ८७.९९ थियो । डब्लुटीआई क्रुडको ८६ं.५५ छ । हिजो ८६ डलर थियो । एक ब्यारलमा लगभग १५९ लिटर हुन्छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि भएलगत्तै नेपाल आयल निगम ठूलो घाटामा जाने भएको छ । सरकारले तेलमा लिएको करमा छूट गरेमात्र निगमको नोक्शान कम हुन्छ । अर्कोतर्फ, जलविद्युत आयोजना निर्माणका लागि भन्दै सरकारले प्रत्येक लिटर तेलमा रकम उठाउन छाडेको छैन । आयोजना निर्माण बढ्न सकेको छैन । रकम संचित भइरहेको मात्र छ ।

तेलको मध्यरातिको मूल्यवृद्धिका बाबजुद नेपाल आयल निगमले पेट्रोलमा झण्डै १०.७२, डिलेजमा ६.३३ रुपैयाँ घाटा व्यवहोरिरहेको जनाएको छ । एलपी ग्याँस प्रति सिलिन्डर ६४६ रुपैयाँ रहेको उल्लेख छ ।

अन्तर्राष्ट्रिय बजारमा निरन्तरको मूल्य वृद्धिले नेपाली बजारमा निगमले तेलको मूल्य वृद्धि गरेपनि १५ दिनभित्र झण्डै २ अर्ब घाटा पर्ने देखिएको छ । मध्यरातिको अन्तर्राष्ट्रिय बजारको मूल्यले पनि निगमले १५ दिनमा १ अर्ब ८८ करोड घाटा पर्ने उल्लेख थियो । प्रतिब्यारल डेढ डलरले वृद्धिले घाटा बढ्ने देखिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि हुनुमा रुसले युक्रेनमाथि हमला गर्ने हल्ला पनि कारण हो । रुस तेल उत्पादक देश हो । तेल उत्पादक देश संयुक्त अरब इमिरेट्समा यमनका हुथी विद्रोहीले ड्रोन हमलाका कारण पनि तेलको मूल्य वृद्धि भएको हो ।

तेल उत्पादक देशहरु उत्पादन बढाउन मानेका छैनन् । उत्पादन वृद्धि नगर्नु र माग बढ्नुले मूल्य आकाशिएको छ । अर्कोतर्फ, संचित तेल खर्च गरिरहेका देशहरुको संचित कम हुँदै गएको छ । यसले पनि मूल्यमा असर पर्न थालेको छ ।

यसैगरी, नेपाल आयल निगमको संचित सून्य भएको जनाइसकेको छ । संचितमा कुनै रकम नभएपछि उसले पेट्रोलियम पद्धार्थ आयातका लागि ऋण लिनुपर्ने भएको छ । आगामी ९ माघभित्र निगमले इन्डियन आयल कर्पोरेशनलाई पठाउनुपर्ने रकममा २ अर्ब अपुग हुने भएको जनाइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्