काठमाडौं, ६ माघ । सत्तापक्षीय पाँच दलको गठबन्धनको आज ४ बजे बस्ने भनिएको बैठक स्थगित् भएपछि गठबन्धनमा आवद्ध प्रमुख दल कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का अध्यक्षहरु भने भेटवार्तामा जुटेका छन् ।
अहिले तीन पार्टीका प्रमुखहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल र माधव कुमार नेपाल बालुवाटारमा छलफलमा जुटेका छन् । गठबन्धनमा आवद्ध दलका नेता सम्मिलित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकको लागि तयारी नपुगेको भनेर स्थगित् गरिएको थियो । त्यसको लागि पनि छलफल गर्ने भन्दै अहिले दाहाल र नेपाल बालुवाटार पुगेका हुन् ।
बालुवाटारको आजको भेटवार्तामा स्थानीय तहको निर्वाचनसम्बन्धी छलफल गरिने बताईएको छ । यसअघि बसेको समन्वय समितिको बैठकमा प्रचण्डले स्थानीय तहको निर्वाचनभन्दा पहिले बैशाखमा संघीय संसद्को निर्वाचन गर्ने प्रस्ताव अघि सारेका थिए । यसमा गठबन्धनमा आवद्ध दलहरुबीच साझा धारणा बनाउन आज समन्वय समितिको बैठक बस्ने भनिएको थियो ।
स्रोतकाअनुसार स्थानीय तहको निर्वाचनभन्दा पहिले प्रतिनिधिसभाको निर्वाचन गर्ने सवालमा कांग्रेसका शीर्ष नेताहरु पनि सहमत रहेका छन् । तर, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने यसको चर्को विरोध गरेको छ। उसले संविधानले देखाएको बाटोअनुसारनै हिँड्नुपर्नेमा जोड दिएको छ ।
स्थानीय तहको निर्वाचनभन्दा पहिले गरिने कुनै पनि निर्वाचन आफूहरुलाई स्विकार्य नहुने एमालेको चेतावनी छ । बरु, आज भोलि नै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न उसले दबाब दिएको छ।
यदि स्थानीय तहको निर्वाचन तत्कालै घोषणा गरिएन भने सडक संघर्षमा जाने भनेर हिजो (बुधबार) नै एमाले नेता आनन्द पोख्रेलले चेतावनी दिईसकेका छन् ।