काठमाडौं, ६ माघ । गौर नरसंहार, राइस मिल अनि सीके राउतलाई धम्की ! त्यो पनि भौतिक पूर्वाधारमन्त्री रेणु यादवको मुखबाट । बोली रेणुको मुखबाट फुत्किएपनि धक्का उपेन्द्र यादवलाई लाग्ने भएको छ ।
रेणु यादवलाई भौतिक पूर्वाधार जस्तो आकर्षक मन्त्रालय दिलाउन उपेन्द्र यादवले ठूलै चुनौतीको सामना गरेका थिए । उनले डा. बाबुराम भट्टराईको दबाबलाई थेगेका थिए । महेन्द्र राय यादवको चाहनालाई लत्याएका थिए । महेन्द्र राय भौतिक पूर्वाधारमन्त्री बन्न चाहन्थे तर कृषिमा लगेर रेणुलाई उक्त मन्त्रालय दिलाए ।
उपेन्द्र यादवका कारण रेणु यादवले पटक पटक आकर्षक मन्त्रालय पाउँदै आएकी छिन् । समाजवादी पार्टी फुटाउने बेलामा पनि रेणु नै अघि सरेकी थिइन् जुन असफल बनाइयो । तैपनि, उपेन्द्रले रेणुलाई नै साथ दिएर पदहरु दिलाइरहे ।
यसपटक भने रणुका कारण उपेन्द्रलाई नराम्रो झड्का लागेको छ । रौतहट पुगेर उनले गौर नरसंहारप्रति गर्व गरिन् । सीके राउतलाई लक्षित गरी गौर नरसंहार मच्चाइदिने चेतावनी दिइन् । गौरमा कसरी घेरा हाली माओवादी कार्यकर्ताको कत्लेआम गरिएको थियो त्यसरी सीके राउतका कार्यकर्ताको हालत बनाइदिने धम्की दिइन् ।
७ चैत्र २०६३ सालमा २७ जना माओवादी कार्यकर्ताको विभत्स हत्या गरिएको घटनालाई रेणुले सम्झने बताइदिन् । यो त्यही घटना थियो जसमा उपेन्द्र यादवविरुद्ध जाहेरी दर्ता छ । त्यतिबेला यादव मधेशी जनअधिकार फोरमका अध्यक्ष थिए । फोरमका कार्यकर्ताद्वारा वाइसिएल कार्यकर्ताको हत्या भएको थियो ।
केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा उपेन्द्र यादवमाथि गौर नरसंहारको मुद्दा अगाडि बढाउने चर्चा चलिसकेको थियो । सत्ता ढल्यो यो मुद्दा अगाडि बढेन । तर, रेणुले यो विषयलाई स्मरणमा ल्याइदिइन् ।
गौरमा पुगेर नरसंहारबारे बोलेपछि उपेन्द्र अप्ठ्यारोमा परेका छन् । उनको इच्छाले मन्त्री बनेकी रेणुको पद धरापमा परेको छ । अर्कोतर्फ, गौर नरसंहारमा उनीमाथि लागेको आरोप फेरि चर्चामा आएको छ । मधेशमा पकड बलियो बनाउँदै लगेका सीके राउत रेणु यादवप्रति भन्दा उपेन्द्र यादवप्रति आक्रामक बन्ने देखिएको छ । यसले भविष्यमा हुने चुनावमा चुनौती बढ्न सक्छ । सीके राउतको प्रभाव मधेशमा बढ्दै गएको छ ।