काठमाडौं, ७ माघ । बढ्दै गइरहेको कोरोना भाइरसको संक्रमणदर नियन्त्रणको लागि काठमाडौं उपत्यकामा सार्वजनिक र निजी सवारी साधनहरुमा जोर/विजोर प्रणाली आज राति १२ बजेदेखि लागु हुने भएको छ ।
तर, नेपाल यातायात व्यवसायीहरुले भने सवारी साधनमा जोर बिजोर प्रणाली लागू नगर्न आग्रह गरेका छन् । व्यवसायीहरुले जोर/विजोर प्रणाली लागु नर्गन आज जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सुझाव समेत दिएका छन् ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवाला निकायहरुसँग सवारी साधनमा जोर/बिजोर प्रणाली लागू गर्ने सम्बन्धमा छलफल गर्न एक कार्यक्रमको आयोजना गरेको थियो ।
छलफलमा व्यवसायीहरुले सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरेर कोरोना संक्रमण नियन्त्रण नहुने तर्क गरे । बरु सवारी साधन कम चलेमा यातायातका साधनमा यात्रुहरुको भीड हुने भन्दै व्यवसायीले जोर/बिजोर प्रणाली लागु नगर्न माग गरेका हुन् ।
सार्वजनिक सवारीलाई नभई निजी सवारी साधनलाई रोक्नुपर्ने यातायात व्यवसायीको माग छ ।