Logo

लुम्बिनीमा नमुना सभाहल र ध्यान केन्द्र, बुद्ध जयन्तीका दिन उद्घाटन हुने



भैरहवा, माघ ९ । बुद्ध जन्मस्थल लुम्बिनीमा सभा सम्मेलन र ध्यान गर्न अब समस्या नहुने भएको छ । पाँच हजार मानिस अट्न सक्ने सभाहल र ध्यान केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

लुम्बिनी विकास कोषले आगामी जेठ २ गते बुद्ध जयन्तीका दिन उक्त सभाहल र ध्यान केन्द्रको उद्घाटन गर्ने गरी काम अगाडि बढाएको छ ।

“अब ध्यान केन्द्रमा ल्यान्डस्केपिङ र बाउन्ड्री वालको काम मात्र बाँकी छ । त्यो काम पनि चालु छ । त्यस्तै झ्याल, ढोका लगाउने काम पनि जारी छ”, कोषका योजना प्रमुख सरोज भट्टराईले भने, “आगामी बुद्ध जयन्तीका दिन उद्घाटन हुनेछ । ”

लुम्बिनीमा आयोजना हुने ठूला सभा समारोहका लागि सम्मेलन केन्द्रको अभाव भएपछि २०७५ वैशाख १७ गते २५६२औँ बुद्ध जयन्तीको अवसर पारी राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सम्मेलन केन्द्रको शिलान्यास गरिएको थियो ।

२०७७ असारभित्रै सम्पन्न गर्ने लक्ष्यसहित अनक–अर्घाखाँची–बाबुल जेभी सिद्धार्थनगरले निर्माणको जिम्मा लिएको थियो ।

निर्धारित समयमा निर्माण कार्य पूरा नभएपछि २०७७ असोजसम्मको समय थप गरिएको थियो तर सम्झौताको दुई वर्ष ढिलो गरी निर्माण सम्पन्न हुन लागेको वरिष्ठ इन्जिनियरसमेत रहनुभएका योजना प्रमुख भट्टराईले भने ।

उनका अनुसार कोरोना महामारीका कारण निर्माण कार्य प्रभावित भएपछि २०७९ असार मसान्तसम्म समय थप गरिएको हो । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot