वीरगंज, माघ ९ । साहुको रिक्सा भाडामा लिएर वीरगन्जमा परिश्रम गर्ने रौतहटका राजाहुसैन मियाँ यहाँ एक्लै बस्छन्। उनलाई बिहान बेलुकाको खानाको भने चिन्ता छैन।
औसत २ जना यात्रु ओसारेबापत आउने आम्दनीले मात्र उनले बिहानबेलुकाको छाक दाल, भात र दुई प्रकारको तरकारी धित मारेर खान पाउँछन्। खाना पकाउने समय बचत भएपछि त्यो समय उनले थप आम्दनीको लागि खर्च गर्छन्। सोमवार राजा हुसैनले भात, दाल, काउली–आलुको गाढा झोल भएको तरकारी अनि भन्टाको भुजिया ५० रुपैयाँ तिरेर खाए।
श्रम गरेर बाच्नेलाई न्यूनतम दाममा स्वस्थ्यकर खाना खुवाइदिने काम गरेको छ, वीरगन्जको मुर्लीचोकमा रहेको ‘भरपेट भोजनालय’ ले। वीरगन्जकै आदर्शनगरको ‘फुटपाथ’ (सडक पेटी)मा एक कप चियाको ३० रुपैयाँ तिर्नुपर्छ। यस्तोमा २ कप चियाकोभन्दा कम मूल्यमा आघाउन्जेल खान पाएपछि स्थापना भएसँगै भरपेट भोजनालय एउटा खास वर्गको लागि लोकप्रिय र भरपर्दो गन्तव्य बनेको युवा साहित्यकार रितुराज बताउँछन्।
राजा हुसैनजस्तै सयौं श्रमजीवीको लागि ‘भरपेट’ बरदान जस्तै भएको छ। रिक्साचालक, ठेलाचालक, वीरगन्जमा बस्ने कतिपय विद्यार्थी, गल्लीमा समान बेच्दै हिँड्ने घुमन्ते व्यवसायी, ग्यारेजमा कम गर्ने मिस्त्री, साना दुरीका यातायातमा काम गर्ने मजदुरलगायतको बिहान र बेलुकीको छाक भरपेटले भर्ने गरेको छ, त्यो पनि ५० रुपैयाँमा।
समुदायमा आधारित संस्था सानो पाईलाले वीरगन्जमा ५० रुपैयाँमा स्वस्थकर भोजन उपलब्ध गराउन योे व्यवस्था स्थापित गरेको छ। यहाँ श्रम गरेर जीविका चलाउने कामदार, विपन्न र न्यून आय भएकालाई लक्षित गर्दै सानो पाइलाले सुपथ मूल्यको भोजनालय वीरगन्ज महानगरपालिका–१२ मेनरोडमा गत साउन ३० देखि सञ्चालनमा ल्याएको हो। भोजनालयको त्यतिबेला उद्घाटन गरेका संविधानसभा सदस्य अनिल रुंगटाले यस्तोखाले अवधारणा वीरगन्जजस्तो सहरको लागि आवश्यक रहेकोले यो सुरु हुनु र प्रभावकारी रुपमा कार्यान्यवन हुनु सुखद् रहेको बताए।
प्रतिदिन यहाँ करिब ३ सय जनाले खाना खाने गरेको ‘भरपेट’का अवधारणाकार कञ्चन झा बताउँछन्। ‘बजारमा तरकारीको मँहगीअनुसार प्रतिदिन प्रतिखानाको लागत घटबढ भइरहन्छ, औसत ६३ देखि ६८ रुपैयाँसम्म एकजनाको खाना खर्च भइरहेको आजको नागरिक दैनिकमा खवर छ ।