काठमाडौं, ९ माघ : साउथ स्टार धनुष र उनकी पत्नी ऐश्वर्या रजनीकान्त हाल अलग्गिएको घोषणाले चर्चामा छन् । उनीहरूले सामाजिक सञ्जालबाट आफूहरू आधिकारिक रूपमा अलग्गिएको घोषणा गरे पनि सर्वसाधारणको नजर उनीहरूबाट हटेको छैन ।
केही समयअघि अलग्गिएका यो जोडी हालैमात्र हैदरावादको एक होटलमा सँगै भेटिएका छन् । उनीहरू आफ्नो कामको सिलसिलामा त्यो होटलमा बसेका हुन् ।
यो जोडी हैदराबादको रामोजी फिल्म स्टुडियोमा रहेको सितारा होटलमा बसेका छन् । रामोजी हैदरावादको सबैभन्दा ठूलो फिल्म सिटी हो । धनुष त्यहाँ आफ्नो कुनै फिल्मको कामको सिलसिलामा होटलमा बसेका छन् । रामोजी स्टुडियोमा सुटिङ हुने अधिकांश फिल्म तथा टेलिफिल्मका कलाकार यही होटलमा बस्ने गर्दछन् ।
ऐश्वर्या भने आउँदो भ्यालेन्टाइनको मौका पारेर सार्वजनिक गर्न लागेको नयाँ गीतको सुटिङ गर्न उक्त होटलमा बसेकी छन् । उनको यो प्रोजेक्ट २५ जनवरीदेखि २७ जनवरीसम्म सुट हुनेछ ।
साउथ सुपरस्टार रजनीकान्तका छोरीज्वाइँ यो जोडीले गत जनवरी १७ मा अलग्गिने निर्णय लिएका थिए । तर के कारणले अलग्गिए भन्ने अहिलेसम्म कारण खुल्न सकेको छैन । न्युज कारखाना