Logo

‘प्रदेश लोकसेवा आयोगको निष्पक्ष कार्यले विश्वनियता कायम’



मोरङ, ९ माघ: प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश लोकसेवा आयोगले निष्पक्ष रुपमा कार्यसम्पादन गर्दा जनतामा यसले विश्वसनीयता कायम गरेको बताएका छन् ।

प्रदेश लोक आयोगको दोस्रो वार्षिकात्सवको उपलक्ष्यमा आयोजित कार्यक्रमको आज उद्घाटन गर्दै उनले निष्पक्ष, दक्ष, इमान्दार, समक्ष कर्मचारी उत्पादन गरेमा सार्वजनिक प्रशासनमा सबैको विश्वास आर्जन सफल हुने बताए । उनले प्रदेश सरकारले आगामी दिनमा आयोगको आन्तरिक कार्य सञ्चालनमा रहेको समस्या समाधान गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले आयोगले आफ्नो कार्य समस्यारहित ढङ्गले छिटो छरितोरुपमा सम्पादन गर्नुपर्नेमा जोड दिए ।

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आयोगलाई जनमुखी, विश्वसनीय र समक्ष बनाउन आवश्यक सहयोग गर्ने बताए । उनले जनशक्ति, कानुन र पूर्वाधार अभावबीच आफ्नो दायित्व सफलतापूर्वक सम्पन्न गरकोमा आयोग धन्यवादको पात्र रहेको उल्लेख गरे । मुख्यमन्त्री राईले आयोगले विवादरहित ढङ्गले दत्तचित्त भएर कार्यमा लाग्नुपर्नेमा जोड दिँदै स्वास्थ्यलगाय अन्य आवश्यक जनशक्ति नियुक्त गर्ने सम्बन्धमा बाधा फुकाउन सरकारले अध्ययन गरिरहको जानकारी गराए ।

उनले सङ्घको निजामती ऐन जारी नभए पनि प्रदेश निजामती ऐनमार्फत के कसरी आवश्यक कर्मचारी पदपूर्ति गर्ने सम्बन्धमा आवश्यक सुझाव दिन आग्रह गरे । मुख्यमन्त्री राईले सङ्घीय सरकारले अनुदानको बजेट रकम अत्यन्त कम, राजस्व सङ्कलन सीमित दायराको कारणले सरकारले अपेक्षित रुपमा आफ्नो दायित्व पूरा गर्न नसकेकामा गुनासो व्यक्त गरे ।-रासस



प्रतिक्रिया दिनुहोस्