Logo

पूर्व स्थायी समितिबाट काम चलाउँदै माओवादी केन्द्र



काठमाडौं, माघ १०। नेकपा (माओवादी केन्द्र)को महाधिवेशनपछि पदाधिकारी चयन हुन नसक्दा पूर्व स्थायी समिति सदस्यको बैठकबाट काम चलाउन थालिएको छ। पार्टीका लागि आवश्यक निर्णय गर्नुपर्ने भएपछि पूर्व स्थायी समिति सदस्यको बैठक राखेर काम चलाउन थालिएको हो।

माओवादी केन्द्रले शनिबार आयोजना गरेको एउटा बैठकमा पूर्व स्थायी समितिका सदस्यमात्रै सहभागी थिए। पार्टी विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षको व्यवस्था भए पनि पदाधिकारी चयन हुन सकेको छैन। पदाधिकारी चयन नहुँदा स्थायी समिति र पोलिटब्युरो गठन हुन सकेको छैन।

पुस ११ देखि एक साता लगाएर भएको महाधिवेशन केन्द्रीय कमिटी चयनबाहेक पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो चयन नगरी सकिएको थियो। ‘अहिले स्थायी समिति बनेको छैन। पदाधिकारीहरू चयन नहुँदासम्म पूर्व संरचनामा रहेको स्थायी समितिकै बैठकबाट निर्णय हुन थालेको छ’, एक पूर्व स्थायी समिति सदस्यले भने, ‘कसका लागि रोकिएको, किन रोकिएको भन्ने पनि जानकारी छैन।’

माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालका अनुसार अहिलेलाई पुरानै संरचनाको स्थायी कमिटीबाट काम चलाइएको छ। ‘कोरोना संक्रमणदर बढेको छ। यस्तो अवस्थामा केन्द्रीय समितिको बैठक बस्न सकेको छैन।

संक्रमणदर कम भएपछि केन्द्रीय कमिटीको बैठक बस्नेछ। त्यसबाट पदाधिकारी र स्थायी कमिटी चयन हुनेछ’,उनले भने। महामारीका बेला केन्द्रीय कमिटीको बैठक बस्ने अवस्था नभएको र महाधिवेशनपछि धेरैजसो नेता संक्रमित भएका कारण पदाधिकारी चयन हुन नसकेको माओवादीको मूल नेतृत्वले जनाएको छ। महासचिवमा धेरै नेताले दाबी गरेपछि अध्यक्ष पुष्पकमल दाहालले पदाधिकारी चयन रोकेको स्रोतको दाबी छ। पदाधिकारी चयन पार्टी अध्यक्षले नै रोकेका हुन्।

पूर्व स्थायी सिमिति सदस्य वर्षमान पुन विदेशमै रहेका कारण रोकिएको थियो, अब चयन हुन्छ’, माओवादी निकट स्रोतले भन्यो, ‘शनिबारको बैठकमा पनि दाहालले पुन आएपछि पदाधिकारी चयन हुने संकेत गरेका छन्।’
उनले सकेसम्म भौतिक रूपमा बैठक गर्ने, नसके भर्चुअल रूपमा बैठक गरेर भए पनि पुन आएपछि पदधिकारी चयन गर्ने संकेत गरेको एक केन्द्रीय सदस्यले बताए।

जनार्दन शर्मा र वर्षमान पुन महासचिवका बलिया दाबेदार हुन्। उनीहरू दुवैलाई महासचिव नबनाउने गरी तयारी अघि बढे पनि विकल्पबारे केही बताइएको छैन। महासचिवमा पम्फा भुसाल, शक्ति बस्नेत र देव गुरुङको पनि दाबी छ। शर्मा र पुनले दाबी गरेपछि दाहालका तर्फबाट शक्ति बस्नेतलाई अघि सारिएको चर्चा माओवादीभित्र छ।

दाहालले भुसाल र गुरुङलाई भन्दा महासचिवको जिम्मेवारी बस्नेतलाई दिने सम्भावना रहेको स्रोतले जनाएको छ। शर्मा अर्थमन्त्री भएको र पुन बिरामी अवस्थामा रहेकाले तेस्रो व्यक्तिलाई महासचिव बनाउन दाहालमाथि दबाब रहेको एक केन्द्रीय सदस्यले बताए। बैंकक र चीनमा उपचार गरी पुन सोमबार काठमाडौं आउँदैछन्। उनी नआउँदै महाधिवेशन सम्पन्न भएको थियो। महाधिवेशन सम्पन्न भएपछिको केन्द्रीय कमिटीको बैठकले पुस १८ मा दाहाललाई अध्यक्षको जिम्मेवारी दिएको थियो।

कोरोना संक्रमण दर कम भए यसै महिनाको अन्तिम साता वा फागुनको पहिलो साता बैठक राखेर पदाधिकारी र स्थायी कमिटी चयन हुने माओवादी केन्द्रले जनाएको छ। ‘चाँडै नै केन्द्रीय कमिटीको बैठक बस्छ, त्यसले नै पदाधिकारी चयन गर्छ’, केन्द्रीय सदस्य शिवबहादुर बस्नेतले भने। दाहालले आफू अध्यक्षमा चयन भएपछि केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २५ मा बोलाएका थिए। तर नेताहरूलाई कोभिड संक्रमण भएपछि बैठक स्थगित भएको थियो। त्यसपछि माघ ८ का लागि बोलाइएको केन्द्रीय कमिटी बैठक पनि स्थगित गरेर पूर्व स्थायी समिति सदस्यको बैठक बसेको थियो।

पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो चयन नहुँदासम्म माओवादीले पूर्व स्थायी समितिकै सदस्यलाई राखेर राजनीतिक निर्णय गर्ने भएको छ। शनिबार पनि पूर्व स्थायी कमिटी सदस्यको बैठक बसेको थियो। सो बैठकले कोरोना महामारी कम नभएसम्म जनपरिचालनका कामको जिम्मा अध्यक्षलाई दिने निर्णय गरेको थियो। बैठकमा बाँकी रहेका संगठनात्मक काम टुंग्याउने जिम्मा पनि दाहाललाई दिने निर्णय भएको कृष्णबहादुर महराले बताएका थिए। महरा यसअघि पार्टी प्रवक्ताको जिम्मेवारीमा थिए भने शनिबार पनि प्रवक्ताकै भूमिकामा देखिएका थिए। नागरिक दैनिकमा समाचार छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot